images
images

नेपाल आयल निगमले घरायसी ग्यास आपूर्ति व्यवस्थित गर्ने निर्णय

काठमाडौँ – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई व्यवस्थित र पारदर्शी बनाउन ग्यास उद्योगीसँग विशेष छलफल गरेको छ। हाल बजारमा देखिएको ग्यास अभाव अझै समाधान हुन नसकेपछि निगमले उद्योगीहरूलाई निर्देशन जारी गरेको हो।

निगमका प्रवक्ता मनोज ठाकुर का अनुसार, छलफलमा उद्योगीहरूले आपूर्तिमा कुनै समस्या नभए पनि वितरण प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। निगमले उद्योगीहरूलाई आफ्नो तोकिएको क्षमता अनुसार ग्यास निरन्तर आयात गरी बजारमा पठाउन र दैनिक रूपमा कुन विक्रेतालाई कति ग्यास वितरण भयो भन्ने विवरण निगममा बुझाउन निर्देशन दिएको छ।

त्यसैगरी, ग्यास विक्रेताहरूले ग्राहकको नाम र फोन नम्बरसहित बिक्री अभिलेख अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ। वितरण प्रक्रियामा घरायसी प्रयोजनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र होटल तथा व्यावसायिक क्षेत्रभन्दा पहिले सर्वसाधारणका लागि ग्यास उपलब्ध गराउनुपर्ने निगमको मुख्य निर्देशन रहेको छ।

प्रवक्ता ठाकुरले भने, “छिमेकी भारतले घरायसी उपभोक्ताका लागि २५ दिनमा एउटा सिलिन्डर दिने नियम ल्याएको छ, तर नेपालमा त्यस्तो समस्या छैन। नेपालले मागअनुसार ग्यास आयात गरिरहेको छ। हाम्रो वार्षिक खपत भारतको एक दिनको खपत जति मात्रै भएकाले आपूर्तिमा कुनै समस्या छैन।”

निगमले उद्योगीहरूसँग भ्याट बिल र गाडी ट्र्याकिङ प्रणालीको आधारमा सूक्ष्म अनुगमन गर्ने बताएको छ। यसले कुन विक्रेताले कति ग्यास प्राप्त गर्‍यो र कसलाई बेच्यो भन्ने विवरण पत्ता लगाउन सजिलो बनाउनेछ।

अहिलेसम्म कतिपय विक्रेताले आफ्ना नियमित ग्राहकलाई मात्र प्राथमिकता दिँदा नयाँ वा आपतकालीन ग्राहकले ग्यास नपाएको गुनासो आएको थियो। नयाँ निर्देशानुसार सबै उपभोक्तालाई समान रूपमा ग्यास वितरण गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।

निगमको दाबी छ कि नयाँ प्रणाली लागू भएपछि बजारमा देखिएको कृत्रिम अभाव हट्नेछ र उपभोक्ताले सहजै ग्यास प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्