काठमाडौँ। पछिल्ला दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न स्थानमा वायु प्रदूषणको स्तर बढ्दै गएको छ। विशेषगरी काठमाडौँ, पोखरा लगायत ठूला सहर तथा तराईका अधिकांश क्षेत्रमा प्रदूषणका मसिना कण ‘पिएम २.५’ को मात्रा उच्च देखिएको जनाइएको छ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट बच्न आम नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। विभागले एक अपिल जारी गर्दै प्रदूषण बढी भएको समयमा घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न र सवारीसाधनको नियमित मर्मतसम्भार गर्न सुझाव दिएको छ।
त्यस्तै फोहोर तथा बालीनालीका अवशेष नजलाउन र त्यस्तो प्रवृत्ति रोक्न सबैले पहल गर्न विभागले आग्रह गरेको छ। वन–जङ्गलमा डढेलो नलगाउन तथा लागिहालेमा तत्काल नियन्त्रण गर्न पनि विभागले सबैसँग अनुरोध गरेको छ।
निर्माण कार्यका क्रममा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्न तथा उद्योग–कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आग्रह गरेका छन्।
उनका अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार निकाय र आम नागरिकबीच सहकार्य र सकारात्मक प्रयास आवश्यक छ। “सबैको सहयोग र सचेत प्रयास भएमा मात्र प्रदूषण नियन्त्रण गर्न सम्भव हुन्छ,” उनले बताएका छन्।
विभागका अनुसार बिहान र बेलुकाको समयमा वायु प्रदूषणको स्तर बढी देखिन्छ। चिसो मौसमका कारण विभिन्न स्रोतबाट निस्किएको धुलो–धुवाँ छरिन नसक्नु र लामो समयदेखि वर्षा नभएकाले पनि यो समयमा प्रदूषण बढ्ने गरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्