images
images

रास्वपामा नयाँ सरकार गठनबारे छलफल सुरु, बालेनले आफैं क्याबिनेट छनोट गर्ने संकेत

प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नयाँ सरकार गठनबारे आन्तरिक छलफल सुरु भएको छ। मंगलबार प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना सकिएसँगै सरकार गठनका विषयमा पार्टीभित्र कुराकानी अघि बढेको हो।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच नयाँ सरकार गठनका विषयमा निरन्तर संवाद भइरहेको छ। सभापति लामिछाने बिरामी भएकाले प्रत्यक्ष भेटवार्ता हुन नसकेको भए पनि कुराकानी जारी रहेको उनले बताइन्।

‘सभापति र वरिष्ठ नेताबीच निरन्तर कुराकानी भइरहेको छ। सभापति बिरामी भएकाले भेटवार्ता हुन सकेको छैन,’ रावलले भनिन्, ‘स्वास्थ्यमा सुधार भएपछि छिट्टै भेटेर सरकार गठनबारे थप छलफल हुनेछ।’

काठमाडौँ–३ बाट निर्वाचित सांसद तथा बालेन शाहका विश्वासपात्र राजुनाथ पाण्डेका अनुसार भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन शाहले आफ्नो कार्यटिम आफैं छनोट गर्नेछन्। संसदीय प्रणालीमा प्रधानमन्त्रीले नै मन्त्री चयन गर्ने प्रचलन रहेको उल्लेख गर्दै उनले सक्षम र विश्वासिलो टिम निर्माण गर्ने बताए।

‘प्रधानमन्त्री उम्मेदवारले नै मन्त्री छनोट गर्ने हो। उहाँले आफूलाई सहज रूपमा काम गर्न सक्ने टिम बनाउनुहुन्छ,’ पाण्डेले भने, ‘काबिल र विश्वास गरेका व्यक्तिलाई मन्त्री बनाइनेछ।’उनका अनुसार मन्त्री छनोट कुनै लेनदेन वा सम्झौतामा आधारित नभई सभापति रवि लामिछानेसँगको परामर्शपछि अन्तिम निर्णय हुने छ।

रास्वपाका केन्द्रीय सदस्य असीम शाहले पनि बालेन शाहले आफ्नै नेतृत्वमा क्याबिनेट गठन गर्ने बताएका छन्। उनले मन्त्री बन्नका लागि दौडधुप, भनसुन वा प्रचार आवश्यक नपर्ने उल्लेख गरे। ‘बालेन शाह प्रधानमन्त्री भएपछि आफ्नो क्याबिनेट आफैं बनाउनुहुन्छ। उहाँलाई सबै सांसदको योग्यता र क्षमताबारे राम्रो जानकारी छ,’ शाहले भने।

यसैबीच बालेन शाह अहिले समानुपातिकतर्फको क्लस्टर मिलानबारे आन्तरिक छलफलमा व्यस्त रहेका छन्। रास्वपाका केन्द्रीय सदस्य भूपदेव शाहले मंगलबार बालेनलाई भेटेका थिए। भेटका क्रममा अछाम–२ मा आफ्नो पराजयबारे बालेनले चासो व्यक्त गरेको उनले बताए।

सरकार गठनका विषयमा औपचारिक छलफल भने सुरु नभएको भूपदेव शाहले बताए। ‘अहिले मत परिणाम आउने क्रममै छ। परिणाम पूर्ण रूपमा आएपछि पार्टीको बैठक बसेर निर्णय हुनेछ,’ उनले भने।

समानुपातिक मतगणनाको प्रारम्भिक अनुमानअनुसार रास्वपाले ५८ सिट, नेपाली कांग्रेसले १९, एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाले चार–चार सिट पाउने सम्भावना देखिएको छ।

समानुपातिकतर्फ दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु र मुस्लिम गरी ६ वटा क्लस्टरका आधारमा उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइएको छ। आयोगले मत परिणामका आधारमा सिट संख्या निर्धारण गरेपछि दलहरूसँग सम्बन्धित नामावली माग गर्नेछ।

त्यसपछि क्लस्टरअनुसार सूची मिलान गरेर अन्तिम टुंगो लगाइनेछ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाएपछि चैत पहिलो साताभित्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

रास्वपाले चैत ५ गतेसम्म संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। चुनावअघि नै बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएकाले संसदीय दलको नेता पनि उनैलाई बनाउने लगभग निश्चित छ।

संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

संसदीय दलको नेता चयन भएपछि राष्ट्रपतिले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने अपेक्षा गरिएको छ। स्रोतका अनुसार वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले पनि चैत ५ भित्र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने तयारी गरिरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्