images
images

बीबीसी को खुलासा – जेन्जी आन्दोलनमा तत्कालीन प्रहरी प्रमुखलेको आदेशमा गोली चलाइएको दाबी

काठमाडौं । बीबीसी अन्तर्गतको खोजमूलक कार्यक्रम बीबीसी आई ले नेपालको ‘जेन्जी’ आन्दोलन र त्यसक्रममा भएको दमनबारे विस्तृत अनुसन्धान सार्वजनिक गरेको छ। प्रतिवेदनमा आन्दोलनकारीमाथि घातक बल प्रयोग गर्न तत्कालीन प्रहरी नेतृत्वबाटै आदेश गएको दाबी गरिएको छ।

गत भदाै २३ गते काठमाडौंमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १७ वर्षीय श्रीयम चौलागाईंसहित १९ जनाको ज्यान गएको उल्लेख छ। उक्त दिनलाई हालैको इतिहासकै एक हिंसात्मक घटनाका रूपमा व्याख्या गरिएको छ।

बीबीसीले प्राप्त गरेको भनिएको आन्तरिक प्रहरी अभिलेखअनुसार ‘पिटर १’ कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यु लागू भएको १० मिनेटपछि “आवश्यक बल प्रयोग गर्न” निर्देशन दिएका थिए। स्रोतका अनुसार उक्त कल साइन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ सँग सम्बन्धित रहेको दाबी गरिएको छ। तर प्रहरी तथा सम्बन्धित अधिकारीहरूले भने यसबारे औपचारिक जिम्मेवारी स्वीकार गरेका छैनन्।

अनुसन्धानमा आन्दोलनको संगठन र परिचालन पक्षसमेत समेटिएको छ। सामाजिक सञ्जालमा प्रतिबन्ध लागेपछि युवाहरूले वैकल्पिक डिजिटल माध्यम प्रयोग गरी आन्दोलन विस्तार गरेका थिए। करिब ३० हजार युवा सडकमा उत्रिएको र त्यसको पूर्वानुमान सुरक्षा निकायले गर्न नसकेको उल्लेख गरिएको छ।

बीबीसीले चार हजारभन्दा बढी भिडियो तथा तस्बिरको प्राविधिक विश्लेषण गरेको जनाएको छ। विश्लेषणका क्रममा केही प्रदर्शनकारी निःशस्त्र अवस्थामा रहेको र गोली प्रहार भएको दृश्य देखिएको दाबी प्रतिवेदनमा गरिएको छ।

घटनापछि बढेको जनआक्रोशका बीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले राजीनामा दिएका थिए र त्यसपछि सरकार परिवर्तन भएको थियो। आन्दोलनका क्रममा कुल ७७ जनाको ज्यान गएको तथ्य पनि प्रतिवेदनमा उल्लेख छ।

आगामी फागुन २१  गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा सार्वजनिक भएको यस अनुसन्धानले सुरक्षा संयन्त्रको भूमिकाबारे गम्भीर प्रश्न उठाएको छ भने राजनीतिक जवाफदेहिता र बल प्रयोगको औचित्यमाथि पुनः बहस चर्किएको छ।

प्रतिक्रिया दिनुहोस्