images
images

निर्वाचनमा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उनीहरूको सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गर्दै निर्वाचनलाई सुरक्षित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए। उनका अनुसार निर्वाचन अवधिमा कर्तव्य पालनका क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई पनि सरकारले उचित आर्थिक सहायता तथा आवश्यक सहयोग उपलब्ध गराउनेछ।

निर्वाचन जस्तो संवेदनशील समयमा सुरक्षाकर्मीहरूले अग्रपंक्तिमा रहेर जिम्मेवारी निर्वाह गर्ने भएकाले उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको सरकारको भनाइ छ। यस निर्णयले सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न तथा निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्