images
images

इटहरी सभामा बालेन : उदयपुरलाई इन्डोनेसियाको बालीजस्तै विकास गर्ने घोषणा

काठमाडौं । रास्वपा अध्यक्ष बालेन साहले उदयपुरलाई इन्डोनेसियाको बालीजस्तै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताएका छन्। इटहरीमा आयोजित चुनावी सभामा बालेनले पूर्वी तराईका जिल्लाहरूको उत्पादन क्षमता, उद्योग–व्यवसाय, र पर्यटन प्रवर्द्धनकाे विकास गर्ने घोषणा गरेका हुन् ।

सभामा बालेनले आफ्नो चिरपरिचित शैलीमा भाषण सुरु गर्दै भने, “कुन ठाउँको तरकारी खाइरहनु भएको छ, बोर्डरपारीको उत्पादन खान पाउनुभएको छैन भने यो दुखको कुरा हो। यसको समाधान गर्नुपर्छ र यसको समाधान गर्ने पार्टी रास्वपा हो।”

उनले पूर्वी तराईका केही जिल्लाहरूमा पर्याप्त धान–चामल उत्पादन भए पनि देशभरि वितरणमा समस्या भएको उल्लेख गर्दै, “यो समस्या समाधान गर्न रास्वपा अग्रसर हुनेछ,”

उद्योग–व्यवसायसँग सम्बन्धित विषयमा बालेनले भने, “देशकै पहिलो उद्योग–कलकारखाना यहाँ खुलेको थियो, तर अहिले नयाँ कारखाना खुलेका छैनन्। कारखाना सञ्चालन गर्दा चन्दा आतंक सुरु हुन्छ, अब यस्तो अवस्था नपरोस् भन्ने व्यवस्था गर्न रास्वपा चाहन्छ।”

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको विषयमा बालेनले उदयपुरको सम्भाव्यता उजागर गर्दै, “उदयपुरको विभिन्न भेगमा डुल्दा मैले देखेँ कि यसलाई इन्डोनेसियाको बालीजस्तै विकास गर्न सकिन्छ। हामी त्यसरी विकास गर्ने पार्टी बन्न चाहन्छौं।”

सभाको अन्त्यमा बालेनले आफ्नो छातिमा टाँसिएको सिलम साक्मा देखाउँदै भने, “जसरी सिलम साक्माले मृत्यूलाई रोक्छ, ठीक त्यसैगरी देश जोगाउने पार्टी बन्न रास्वपा चाहन्छ।” बालेनको यो भाषणले पूर्वी नेपालको उत्पादन, उद्योग र पर्यटन क्षेत्रको विकाससँगै मतदाता माझ पार्टीको प्रतिवद्धता स्पष्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्