काठमाडौं । धादिङमा भएको बस दुर्घटनापछि सरकारले घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार गृह मन्त्रालयमा बसेको आपत्कालीन बैठकले दुर्घटनाको कारण, जिम्मेवारी र भविष्यमा यस्ता घटना नदोहोरिन उपायबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्।
बैठकमा गृहमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि, तीन वटै सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवाला निकायबीच छलफल भएको थियो। छलफलमा दुर्घटनाको विस्तृत अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालिएको जनाइएको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये केहीलाई कलंकीस्थित नेशनल अस्पतालमा र अन्यलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ। ट्रमा सेन्टरमा एक युवकको उपचारका क्रममा मृत्यु भएको र अन्य घाइतेहरूको उपचार जारी रहेको जनाइएको छ।
सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचारमा आवश्यक समन्वय र सहयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। छानबिन समितिले छिट्टै प्रतिवेदन पेश गर्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया दिनुहोस्