झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका बालेन शाहले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी बाचा–पत्र सार्वजनिक गरेका छन्। उनले भूमि व्यवस्थापन र स्वास्थ्य क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा राखेका छन्।
सार्वजनिक बाचा–पत्र अनुसार झापा–५ भित्रका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न सरकार गठन भएको १०० दिनभित्र अधिकार सम्पन्न भूमि आयोग गठन गरिने प्रतिबद्धता जनाइएको छ। साथै १००० दिनभित्र भूमि सम्बन्धी दीर्घकालीन समस्या समाधान गर्ने लक्ष्य राखिएको उल्लेख छ। कृषि उत्पादन वृद्धि र जमिनको प्रभावकारी उपयोगका लागि ‘ल्याण्ड बैंक’ अवधारणा कार्यान्वयन गरिने, बाँझो जमिनको सदुपयोग, जग्गा चक्लाबन्दी तथा ऐलानी जग्गाको व्यवस्थापनलाई व्यवस्थित गरिने नीति पनि बाचा–पत्रमा समेटिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ दमक अस्पताललाई पहिलो चरणमै ३०० शैयाको सुविधासम्पन्न अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। अस्पतालको भौतिक संरचना विस्तार, उपकरण व्यवस्थापन र विशेषज्ञ जनशक्ति थप गर्दै गुणस्तरीय सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ। आर्थिक रूपमा विपन्न, असहाय र बेवारिसे बिरामीहरूका लागि अस्पतालको कुल शैयामध्ये १० प्रतिशत शैया निःशुल्क उपचारका लागि अनिवार्य छुट्याइने प्रतिबद्धता पनि गरिएको छ।
त्यसैगरी कृषि, रोजगार, शिक्षा र पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ। आधुनिक सिँचाइ प्रणाली विस्तार, कृषि भण्डारण केन्द्र स्थापना, युवालाई लक्षित रोजगार कार्यक्रम सञ्चालन, सडक र खानेपानी पूर्वाधार सुधार तथा डिजिटल सेवा विस्तार गर्ने योजना बाचा–पत्रमा उल्लेख गरिएको छ। सामुदायिक विद्यालयको स्तरोन्नति, डिजिटल शिक्षण प्रणाली र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम विस्तार गर्ने नीति पनि अघि सारिएको छ।
शाहले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो राजनीतिक एजेन्डाको मुख्य आधार बनाउने बताएका छन्। सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र जनउत्तरदायी बनाउँदै परिणाममुखी कार्यशैली अपनाउने उनको प्रतिबद्धता छ। उनका अनुसार यी कार्यक्रमहरू पार्टीको केन्द्रीय घोषणापत्रसँग सम्बद्ध रहेका छन् र कार्यान्वयनमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।















प्रतिक्रिया दिनुहोस्