बनेपा । टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएपछि अवरुद्ध बनेको अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी राजमार्ग खुलाइएको हो।
बनेपास्थित दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान भएको दुर्घटनामा धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो। उनको निधनपछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बनेपा क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो। आक्रोशित समूहले ठक्कर दिने टिपरमा आगजनीसमेत गरेका थिए।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीका एसपी कोमल शाह र सशस्त्र प्रहरीका एसपी माधव रेग्मीको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो।
हाल सुरक्षाकर्मीको उपस्थितिमा स्थिति सामान्य बन्दै गएको र राजमार्ग सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्