आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपालले आज समूह चरणको आफ्नो दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ। सुपर–८ को सम्भावना जीवित राख्न नेपालका लागि यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ।
जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बलियो टोली इङ्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजय बेहोरे पनि त्यस खेलमा देखाएको उत्कृष्ट प्रदर्शनको विश्व क्रिकेट जगतले खुलेर प्रशंसा गरिरहेको छ। यता, इटाली भने आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो। दुवै टोलीका लागि आजको खेल ‘गर या मर’ को अवस्थामा रहेको छ।
नेपालले यसपटक तेस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाएको हो। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली भारतमा विश्वकप खेलिरहेको छ। टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन्।
नेपाल रहेको समूह ‘सी’ मा स्कटल्याण्ड, इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिज रहेका छन्। आजको खेलपछि नेपालले फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग र फेब्रुअरी १७ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्नेछ।








प्रतिक्रिया दिनुहोस्