images
images

रौतहट दुर्घटनाबारे निष्पक्ष छानबिनमा सहयोग गर्ने रास्वपाको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट–२ का उम्मेदवार सगिर आलमले प्रयोग गर्ने गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनामा निष्पक्ष र वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने जनाएको छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा घटनालाई गम्भीर रूपमा लिइएको उल्लेख गर्दै कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने विषयमा पार्टी प्रतिबद्ध रहेको जनाइएको छ। साथै, पीडित परिवारलाई आवश्यक राहत र सहयोगका लागि पार्टीस्तरबाट पहल भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनको परिचालनमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ। उम्मेदवार, पार्टीपंक्ति तथा सवारी चालकलाई सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता दिन कडा निर्देशन जारी गरिएको पार्टीले जनाएको छ।

बिहीबार दिउँसो इशनाथ नगरपालिका-४ मठिया टोलमा रास्वपा उम्मेदवार शेख सगिरको गाडीले ४ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। उक्त गाडी सगिरकै भएपनि दुर्घटना हुँदा आफू सवार नरहेको बताएका छन्।

दुर्घटनापछि बालिकालाई त्यही गाडीमा हालेर गौर सिटी अस्पताल पुर्‍याइएको थियो। त्यसपछि चालक परोहा नगरपालिका घर भएका २७ वर्षीय शेख मुस्ताख फरार भएका थिए। उनलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्