काठमाडौं । फिल्म ‘आबाट आमा’ हेर्ने क्रममा केही दर्शक बेहोस भएको घटनापछि निर्देशक तथा निर्माता चन्द्र पन्तले सार्वजनिक रूपमा माफी मागेका छन्। फिल्मको कथावस्तु अत्यन्त मर्मस्पर्शी भएकाले केही दर्शकलाई मानसिक रूपमा गाह्रो परेको र स्वास्थ्यसम्बन्धी समस्या देखिएको स्वीकार गर्दै उनले विज्ञप्ति जारी गरेका हुन्।
निर्देशक पन्तका अनुसार विराटनगर र युएईको दुबईमा आयोजना गरिएका प्रदर्शनका क्रममा दुई जना दर्शक बेहोस भएका थिए। दुबईमा आयोजित शोमा ४५ वर्षीय एक दर्शक फिल्म सकिन करिब १५ मिनेट बाँकी रहँदा बेहोस भएपछि प्रदर्शन नै रोक्नुपरेको थियो। “जब फिल्मको कथा जीवनकै कथाजस्तो लाग्छ, तब मन थाम्न निकै गाह्रो हुँदो रहेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
फिल्म ‘आबाट आमा’ अभिभावक र सन्तानबीचको गहिरो सम्बन्ध, बाबुआमाको महत्व र पारिवारिक भावनामा केन्द्रित छ। फिल्ममा त्रिकोणात्मक प्रेमकथा तथा नेपालीहरू रोजगारीका लागि विदेशिन बाध्य हुनुपर्ने यथार्थ अवस्थाको चित्रण गरिएको छ। यसमा पल शाह, प्रदीप रावत र विपना थापा मुख्य भूमिकामा रहेका छन्।
यसैबीच, फिल्मले अष्ट्रेलिया र न्यूजिल्यान्डमा सयभन्दा बढी शो प्राप्त गरेको बताइएको छ। फिल्मका मर्मस्पर्शी गीत ‘जाँदैछु नौ डाँडा काटेर’ र यसको नेवारी संस्करण ‘लैजा खबर ए हावा’ यसअघि नै सार्वजनिक भइसकेका छन्।









प्रतिक्रिया दिनुहोस्