काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालत जिम्मेवारीबाट पन्छिन नमिल्ने स्पष्ट पारेका छन्।
प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै बस्नेतले संसद पुनर्स्थापनासम्बन्धी मुद्दाको निरूपण तत्काल गर्नुपर्नेमा जोड दिए। सर्वोच्च अदालतको स्पष्ट निर्णय नआउँदा मुलुक गम्भीर अन्योलको अवस्थामा पुगेको उनको भनाइ थियो।
“संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन। यसको निरूपण तत्काल गर्नुपर्छ,” उनले भने, “यदि संसद पुनर्स्थापना हुने हो भने निर्वाचनको नाममा भइरहेका सबै गतिविधि र खर्च अनावश्यक हुन्छन्। पुनर्स्थापना नहुने हो भने ढुक्कसँग निर्वाचनतर्फ जानुपर्छ।”
बस्नेतले न्यायिक प्रक्रियामा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै यसले न्याय प्रणालीप्रति नै गम्भीर प्रश्न उठाएको दाबी गरे। उनका अनुसार डर, दबाब, लोभ–प्रलोभन वा हस्तक्षेपका कारण न्यायिक प्रक्रिया प्रभावित भइरहेको अनुभूति जनतामा बढ्दै गएको छ।
“न्यायिक प्रक्रिया आतंकित भएर, डराएर, लोभ–प्रलोभनमा परेर वा हस्तक्षेपका कारण ढिला भइरहेको अनुभूति भएको छ,” उनले भने, “आज पनि पेसी चढ्छ भन्ने अपेक्षा थियो, तर फेरि तारिख सर्यो।”
उनले प्रधानन्यायाधीशसहित न्यायाधीशहरू जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिएको आरोपसमेत लगाए।
“लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति देखिन थालेको छ,” बस्नेतले टिप्पणी गरे।
यसले न्यायालय मात्र नभई समग्र न्यायिक प्रणाली नै संकटमा परेको अनुभूति भइरहेको उनको भनाइ थियो।
“आज हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै जलेका छैनन्, हाम्रो सम्पूर्ण न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ,” उनले भने।








प्रतिक्रिया दिनुहोस्