काठमाडौं । भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा जेन–जीकै प्रस्तावमा सूचना तथा सञ्चार मन्त्री बनेका जगदीश खरेल जेन–जीकै आग्रहमा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन्। खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले सरकार छाडेर चुनावमा जाने मन्त्रीहरूको प्रशंसा गर्दै यसलाई लोकतान्त्रिक अधिकारको प्रयोग भएको बताएकी छन्। निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलको चरित्र र कार्यशैलीको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “जगदीश खरेल जेन–जी पुस्ताकै सिफारिसमा मन्त्री बन्नु भएको हो। उहाँ सुरुदेखि नै सरकारमा जान इच्छुक हुनुहुन्नथ्यो, तर मेरो अनुरोधमा जिम्मेवारी स्वीकार्नुभयो। पदमा रहुन्जेल उहाँले इमान्दार भएर काम गर्नुभयो र कुनै पनि प्रकारको दुरुपयोग गर्नुभएन।”
सरकारमै बसेर चुनाव लड्नु बेइमानी हुने तर पद छाडेर चुनावी वातावरण तयार गरी जनताका बीच जानु बेइमानी नभएको प्रधानमन्त्रीले भनाइ छ । प्रधानमन्त्रीले थपिन्, “सरकारमै बसेर चुनाव लड्नु बेइमानी हो, तर पद छाडेर चुनावी वातावरण तयार गरी जनताका बीच जानु बेइमानी होइन। चुनावमा जानका लागि उहाँले अनुमति माग्नुभयो र मैले स्वीकृति दिएँ। यसले उहाँले अधिकार र जिम्मेवारी दुवैलाई सम्मान गरेको देखाउँछ।”
जगदीश खरेल केवल एक मन्त्री मात्र नभई जेन–जी पुस्ताले अघि सारेका उम्मेदवार हुन् । जेन–जीको विश्वास, अपेक्षा र राजनीतिक चेतनाको प्रतिनिधित्व गर्दै खरेल चुनावी प्रतिस्पर्धामा उत्रिएको बताइन्छ। स्वयं खरेलले पनि आफू जेन–जीको उम्मेदवारको रूपमा जनताका बीच आएको बारम्बार बताउँदै आएका छन्।
खरेलका सहयात्री उद्धव भट्टराईका अनुसार, जेन–जीले पटक–पटक आग्रह र सल्लाह दिएपछि मात्रै खरेल चुनावी प्रतिस्पर्धामा होमिएका हुन्। “उहाँ जेन–जी पुस्ताकै सिफारिसमा मन्त्री बन्नुभएको हो र अहिले पनि जेन–जीकै आग्रहमा जनताका बीच पुग्नुभएको हो,” भट्टराईले भने।










प्रतिक्रिया दिनुहोस्