झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहले झापामा चुनावी अभियानलाई तीव्र बनाउँदै सुकुमबासी समस्या, शिक्षा–स्वास्थ्य नीति र प्रदेश संरचनालगायत राष्ट्रिय मुद्दामा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
झापाको कमल गाउँपालिकामा आयोजित चुनावी कार्यक्रमका क्रममा शाहले स्थानीय मतदाता, भूमिहीन सुकुमबासी तथा युवाहरूसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको आगामी योजना र दृष्टिकोण स्पष्ट पारेका हुन्। उनले वास्तविक सुकुमबासीलाई राज्यले न्याय दिनुपर्ने उल्लेख गर्दै लालपुर्जा वितरणको वर्तमान प्रणालीमा गम्भीर सुधार आवश्यक रहेको बताए।
सुकुमबासीहरूसँगको भेटमा शाहले ४०–५० वर्षदेखि बसोबास गर्दै आएका वास्तविक भूमिहीन नागरिकलाई लालपुर्जा उपलब्ध गराउनुपर्नेमा जोड दिए। काठमाडौंमा खोला किनारका बस्तीमा डोजर चलाइएको विषयमा स्पष्टिकरण दिँदै उनले बाढीको जोखिमका कारण मानवीय ज्यान जोगाउन उक्त कदम चालिएको बताए। तर झापाजस्ता स्थानमा लामो समयदेखि स्थायी रूपमा बसोबास गर्दै आएका बस्तीहरूको अवस्था फरक रहेको र उनीहरूको हक अधिकार सुनिश्चित गरिनुपर्ने उनको भनाइ थियो। उनले राजनीतिक पहुँचका आधारमा एउटै व्यक्तिले पटक–पटक लालपुर्जा पाउने तर वास्तविक सुकुमबासी वञ्चित हुने अवस्थालाई अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए।
शाहले शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने विषयमा राज्यको आर्थिक अवस्थालाई यथार्थपरक ढंगले बुझ्नुपर्ने बताए। संविधानमा निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था उल्लेख भए पनि त्यसलाई व्यवहारमा लागू गर्न पर्याप्त बजेट नहुँदा चुनौती देखिएको उनले स्वीकार गरे। काठमाडौं महानगरपालिकामा निजी विद्यालयहरूमा विपन्न वर्गका लागि १० प्रतिशत सिट सुरक्षित गरी वार्षिक अरबौं रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराइएको उदाहरण प्रस्तुत गर्दै उनले आर्थिक हैसियत कमजोर भएकाले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने व्यवस्था निर्माण गर्नुपर्ने बताए।
केही स्थानीयले खर्च कटौतीका नाममा प्रदेश संरचना खारेज गर्नुपर्ने सुझाव दिएपछि शाहले त्यसको विरोध गर्दै प्रदेश संरचना नै देशको आर्थिक संकटको मूल कारण नभएको स्पष्ट पारे। उनले मन्त्री र सांसदको तलबले मात्र राज्यको अर्थतन्त्र कमजोर नहुने दाबी गर्दै देशको आर्थिक समस्याको जड व्यवस्थागत कमजोरी र दीर्घकालीन योजनाको अभाव भएको बताए।
कार्यक्रमका क्रममा शाहले रास्वपाले फागुन महिनाको पहिलो सातामै आफ्नो विस्तृत चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए। उक्त घोषणापत्रमा स्थानीय क्षेत्रका आवश्यकतालाई केन्द्रमा राखी छुट्टै कार्यक्रम तथा प्रधानमन्त्रीको कार्यालयमार्फत कार्यान्वयन हुने विशेष योजनाहरू समावेश गरिने बताए। कार्यक्रममा सहभागी झापाका युवाहरूले शाहका एजेन्डाप्रति चासो देखाउँदै आगामी निर्वाचनमा ‘घन्टी’ चुनाव चिह्नमा मतदान गर्ने उत्साह व्यक्त गरेका थिए।










प्रतिक्रिया दिनुहोस्