काठमाडौं । नेकपा एमालेका नेता जीतेन्द्र नारायण देवले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले सोमबार एक विज्ञप्ति जारी गर्दै एमाले छाड्ने निर्णय गरेको जानकारी दिएका हुन्।
विज्ञप्तिमा देवले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीलाई सामूहिक नेतृत्व र वैचारिक अभ्यासबाट टाढा लगेर व्यक्तिवाद र देवत्वकरणतर्फ उन्मुख गराइएको आरोप उनले लगाएका छन्।
उनका अनुसार पार्टी सञ्चालन स्वेच्छाचारी र विभेदकारी ढंगले हुँदै आएको छ, जसले कार्यकर्ता र नेताहरूमा निराशा बढाएको छ। एमालेको विचार, नीति र व्यवहारबीच गहिरो अन्तर देखिएको भन्दै त्यससँग आफू सहमत हुन नसकेको कारण पार्टी परित्याग गर्नुपरेको उनले उल्लेख गरेका छन्।
देवले पछिल्लो समय युवाहरूले थालेको जेन–जी आन्दोलनलाई ‘विदेशी षड्यन्त्र’ का रूपमा व्याख्या गर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाएका छन्। लोकतान्त्रिक अभिव्यक्तिलाई दबाउने यस्तो दृष्टिकोण पार्टीको मूल मर्मविपरीत रहेको उनको भनाइ छ।
नेपाली कांग्रेस परित्याग गरी करिब दुई वर्षअघि एमाले प्रवेश गरेका देवको पार्टी छोड्ने निर्णयले समकालीन राजनीतिक वृत्तमा चासो पैदा गरेको छ। उनको आगामी राजनीतिक कदमबारे भने खुलाइएको छैन।









प्रतिक्रिया दिनुहोस्