काठमाडौँ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै हरेक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायत सहिदको स्मरणमा सहिद दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएको आरोपमा तत्कालीन शासकले उनीहरूलाई मृत्युदण्ड दिएको थियो । तिनै सहिदको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको मानिन्छ ।
प्रत्येक वर्ष सहिद दिवसका अवसरमा नेपालको पहिलो सहिद को हुन् भन्ने विषयमा बहस चल्ने गरेको छ । विशेष गरी अछामका ‘बाँकावीर’ लाई प्रथम सहिद मान्नुपर्ने बहस बेला–बेला उठ्ने गरेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत संसद्मा बाँकावीर नेपालका प्रथम सहिद भएको धारणा व्यक्त गरेपछि यो बहस थप चर्किएको थियो ।
बाँकावीर अछामका राजा रणभीम शाहीका भाइ बलदेव शाही हुन् । राणा शासनको सुरुवातमै उनले जंगबहादुर राणाको दमनकारी शासनविरुद्ध संगठित रूपमा सशस्त्र छापामार विद्रोहको नेतृत्व गरेका थिए । विसं १९०३ पछि सुदूरपश्चिममा खटाइएका राणा पल्टनले अछामी जनतामाथि गरेको बेगारी, लुटपाट, महिलामाथि हिंसा र अमानवीय दमनविरुद्ध उनले प्रतिरोधको बाटो रोजेका थिए ।
डोटी, कैलाली, अछाम, बझाङ, बाजुरा, दैलेख र बैतडीसम्म फैलिएको बाँकावीरको विद्रोहले राणा शासनलाई गम्भीर चुनौती दिएको थियो । साहस, रणकौशल र जनताका पक्षमा उभिएको नेतृत्वका कारण अछामी जनताले बलदेव शाहीलाई ‘बाँकावीर’ अर्थात् साहसी वीरको उपाधि दिएका थिए । राणाहरूले आफ्नै मान्छे प्रयोग गरी षड्यन्त्रपूर्वक विसं १९०५/०६ तिर उनको हत्या गराएका थिए । लखन थापाभन्दा करिब २८ वर्षअघि नै राणाशाहीविरुद्ध संघर्ष गर्दै मारिएका कारण बाँकावीरलाई राणा शासनविरुद्धको प्रारम्भिक तथा प्रथम सहिद मान्नुपर्ने तर्क गरिँदै आएको छ ।
यसैबीच माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने घोषणा अनुसार देशका विभिन्न स्थानमा कार्यक्रम हुँदै आएका छन् । अछाममा पनि सहिद दिवसको अवसरमा नेकपा एमाले अछामका नेता तथा प्रतिनिधिसभा उम्मेदवार दीपक साउँदले बाँकावीरको हत्या गरिएको स्थान बान्नीगढी गाउँपालिकाको काफलखेतबाट ‘घरदैलो कार्यक्रम’ सुरु गरेका छन् ।
प्रतिनिधिसभा उम्मेदवार दीपक साउँदले नेपालकै पहिलो सहिद बाँकावीर भएको दाबी गरेका छन् । सहिद दिवसको अवसरमा उनले अछामको पहिचान बनेको ऐतिहासिक स्थल बान्नीगढी गाउँपालिकास्थित काफलखेतबाट घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

साउँदले बाँकावीरको योगदानलाई औपचारिक रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै ऐतिहासिक प्रमाणका आधारमा उनको पहिचान स्थापित गरिने बताएका छन् । उनले पहिलो सहिदको रूपमा बाँकावीरको मान्यता दिलाउने विषयलाई संसदसम्म पुर्याउने बाचा गरेका छन् । “ऐतिहासिक दस्तावेज र प्रमाणले बाँकावीर नै नेपालका पहिलो सहिद भएको देखाउँछ,” उनले भने ।
यता, ऐतिहासिक रूपमा राज्यले लखन थापा मगरलाई नेपालका प्रथम सहिदका रूपमा मान्यता दिएको छ । राणा शासनविरुद्ध विद्रोह गरेको अभियोगमा विसं १९३३ मा लखन थापालाई मृत्युदण्ड दिइएको थियो । उनको सहादतको १२५ वर्षपछि, वि.सं. २०५६ फागुन ११ गते राज्यले उनलाई सहिद घोषणा गरेको थियो । त्यसपछि वि.सं. २०७२ असोज ३ गते सरकारले औपचारिक रूपमा लखन थापालाई प्रथम सहिद घोषणा गरेको हो । यद्यपि, सरकारले २०६५ सालमै उनलाई सहिद घोषणा गरिसकेको भए पनि प्रथम सहिदको मान्यता भने २०७२ मै दिइएको थियो, जुन विभिन्न संघ–संस्था र बुद्धिजीवीहरूको पहलपछि सम्भव भएको थियो ।
इतिहासअनुसार, विसं २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दै विसं १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
यसरी सहिद दिवसले नेपालमा विभिन्न कालखण्डमा स्वतन्त्रता, न्याय र प्रजातन्त्रका लागि बलिदान दिने सहिदको स्मरण गराउँछ । तर, बाँकावीर बलदेव शाहीको विद्रोह, समयक्रम र सहादतलाई आधार मान्दा उनलाई पनि प्रथम सहिदका रूपमा पुनर्विचार गर्नुपर्ने आवाज अझै उठिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्