images
images

आचारसंहिता उल्लङ्घन : निर्वाचन आयोगले हर्क साम्पाङ, शक्ति बस्नेत र हिक्मत कार्कीलाई सोध्यो स्पष्टीकरण

काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । माघ ४ गतेदेखि आचारसंहिता लागू गरेसँगै आयोगले अनुगमन तथा उजुरीका आधारमा आचारसंहिता उल्लङ्घनका घटनामाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जाजरकोटबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडिएको भिडिओ सार्वजनिक भएपछि त्यसबारे स्पष्टीकरण सोधेको छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मनोनयन दर्ताका क्रममा सरकारी सवारी साधन प्रयोग गरिएको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

द्वेषपूर्ण अभिव्यक्ति दिएको आरोपमा आयोगले काठमाडौँ–४ बाट उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्र भण्डारीसँग पनि स्पष्टीकरण माग गरेको छ ।

निर्वाचन आयोगका अनुसार आचारसंहिता उल्लङ्घन पुष्टि भएमा सम्बन्धित व्यक्ति वा उम्मेदवारलाई जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही गर्न सकिने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्