काठमाडौँ – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी आज देशभर विधिपूर्वक सरस्वती पूजा गरी मनाइँदैछ। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरे विद्या, बुद्धि र सृजनशीलता बढ्ने धार्मिक विश्वास रहेको छ। आजका दिन देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिन अक्षरारम्भ गराउने परम्परा छ भने लेखपढ सुरु गराए राम्रो विद्या प्राप्त हुने विश्वास गरिन्छ।
चन्द्रमाजस्तै गोरो वर्ण, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता विभिन्न नामले पूजा आराधना गर्छन्।
विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले कलम, कापी, कुची, वाद्ययन्त्रजस्ता आफ्ना साधनालाई सरस्वतीको प्रतीक मानी पूजा गर्ने चलन छ। तान्त्रिक परम्परामा भने देवीलाई तारादेवीका रूपमा आराधना गरिन्छ। सूर्य उत्तरायणतर्फ लागी दिन लामो हुने र वसन्त ऋतुको प्रारम्भ हुने विश्वासका कारण यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्ध ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक मान्यता छ। गान्धर्व पुराणमा आज सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने उल्लेख छ। परम्पराअनुसार आज विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत नहेर्नुपर्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकार्य भने नगरिने बताइएको छ।
यस अवसरमा बालबालिकालाई शिक्षा आरम्भ गराउने, नाक–कान छेड्ने चलनसमेत रहेको छ। काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती मन्दिर, ललितपुरको लेलेलगायत देशका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरहरूमा आज विशेष भीड लागेको छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि प्रखर हुने धार्मिक विश्वास पनि प्रचलित छ।
वसन्त श्रवण
यसै अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने परम्परा अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुहुनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार शुक्रबार बिहान १० बजेर २७ मिनेटको शुभसाइतमा वसन्त श्रवण गर्ने साइत जुराइएको हो।
वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। कार्यालयका अनुसार वसन्त श्रवणका सबै तयारी पूरा भएका छन्।








प्रतिक्रिया दिनुहोस्