images
images

मौसममा परिवर्तन: पश्चिमी भू–भागमा वर्षा सक्रिय

काठमाडौँ – आजदेखि देशका पश्चिमी भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज रातिदेखि भोलि बेलुकासम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ।

वर्षासँगै उच्च हिमाली क्षेत्रमा मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार आउँदो माघ १३ गते मङ्गलवार रातिदेखि पुनः सामान्य वर्षा हुने सम्भावना पनि रहेको छ।

यसैबीच आज शुक्रबारको सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा झन्डै २ डिग्री सेल्सियसले बढेको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाडौँको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको हो।

हिजो बिहीबार सोही समयमा काठमाडौँको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस थियो। यद्यपि, बिहान ८ बजेर ४५ मिनेटमा तापक्रम घट्दै ३.५ डिग्री सेल्सियससम्म पुगेको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि सोही समयमा मापन गरिने भएकाले तापक्रम अझै केही घट्न सक्ने सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार सम्बन्धित दिनमा सबैभन्दा तल झरेको तापक्रम नै न्यूनतम तापक्रम मानिन्छ।

प्रतिक्रिया दिनुहोस्