काठमाडौँ । निर्वाचन आयोगले आज प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको नामावली सार्वजनिक गर्ने भएको छ। आयोगका अनुसार साँझ ५ देखि ७ बजेसम्म नामावली प्रकाशन गरिनेछ।
फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको थियो। बुधबार परेको दाबी–विरोधमाथि जाँचबुझ गरी आज नामावली प्रकाशन गर्न लागिएको हो। आयोगका अनुसार भक्तपुर–२, सुनसरी–२, रौतहट–१ र कैलाली–१ गरी पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो।
निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन तथा दिउँसो ४ देखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार हालसम्म ३ हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा ३ हजार ८९ पुरुष, ३९६ महिला र एक तेस्रो लिङ्गी छन्।












प्रतिक्रिया दिनुहोस्