images
images

छ महिनामा नेपालको वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा कुल वैदेशिक व्यापार १७ दशमलव ३६ प्रतिशतले वृद्धि भई १० खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब २१ अर्ब रुपैयाँभन्दा बढीको व्यापार भएको थियो।

कुल वैदेशिक व्यापारमध्ये ८६ दशमलव ८६ प्रतिशत हिस्सा आयातको र १३ दशमलव १४ प्रतिशत निर्यातको रहेको छ। समीक्षा अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव १८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो।

यसैगरी, गत ६ महिनामा नेपालबाट १ खर्ब ४२ अर्ब रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ दशमलव ७६ प्रतिशतले वृद्धि हो। गत आर्थिक वर्षको सोही अवधिमा ९८ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको थियो।

यस अवधिमा नेपालको व्यापार घाटा पनि १० दशमलव १५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्