images
images

प्रतिनिधिसभा निर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी, माघ ८ मा अन्तिम नामावली प्रकाशन

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध बुधबार उजुरी दिन सकिने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारका मनोनयनपत्रमाथि उजुरी दर्ता गर्न सकिने जनाएको छ। आयोगका अनुसार दर्ता भएका उजुरीमाथि माघ ८ गते साँझ ५ बजेसम्म जाँचबुझ गरी आवश्यक निर्णयसहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

त्यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको उम्मेदवार मनोनयन दर्ता कार्यक्रम देशभरका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

आयोगका सचिव कृष्णबहादुर राउतले यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए। तीमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष छन्। साथै, अपाङ्गता भएका ८५ जना तथा पिछडिएको क्षेत्रबाट १३८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्