नाथकन चन्थमको अर्धशतकीय इनिङ्समा थाइल्यान्डले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गतको पहिलो खेलमा घरेलु टोली नेपाललाई ८ विकेटले सहज रूपमा पराजित गरेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो। थाइल्यान्डको जितमा चन्थमले ३९ बलमा ९ चौका र १ छक्कासहित अविजित ५७ रनको उत्कृष्ट योगदान दिइन्। नान्नापत कोन्चारोएनकाईले ३२ तथा अपिसरा सुवान्चोरथीले २८ रन बनाइन्।
नेपालका लागि सीता रानामगरले दुवै विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो। नेपालका लागि विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् भने सम्झना खड्काले २६ र उपकप्तान पूजा महतोले १२ रन जोडिन्। अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन्।
थाइल्यान्डको बलिङमा थिपाचा पुथावोङ र ओनिचा कामचोम्फुले समान ४–४ विकेट लिए। चनिदा सुथिरुआङ, सुलीपोर्न लाओमी र सुनिदा चतुरंगरत्नले एक–एक विकेट हात पारे।
अब नेपालले आगामी बिहीबार नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेल खेल्नेछ भने थाइल्यान्डले मंगलबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।











प्रतिक्रिया दिनुहोस्