काठमाडौँ । नेकपा एमालेभित्र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेका छन् । ओलीले हालै सम्पन्न ११औँ महाधिवेशनमा आफसँग प्रतिस्पर्धा गर्दै पराजित भएका ईश्वर पोखरेलसहितका प्रभावशाली तथा ‘हेभीवेट’ नेताहरूलाई नै टिकटबाट वञ्चित गरेका छन् ।
शनिबार बसेको एमाले सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको भए पनि हालै सम्पन्न ११औँ महाधिवेशनमा अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका केन्द्रीय सदस्य ईश्वर पोखरेललाई टिकट नदिने निर्णयले पार्टीभित्र गहिरो असन्तुष्टि पैदा गरेको छ। टिकट वितरणमा पोखरेल समूहलाई पूर्ण बेवास्ता गरिएको छ।
पोखरेलसँगै उपमहासचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा र ठाकुर गैरेजस्ता प्रभावशाली नेताहरू पनि यस पटक उम्मेदवार बन्नबाट रोकिएका छन्। यस्तै, कर्ण थापा, ऐन महर, झपट रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, विनोद खतिवडा, छविलाल विश्वकर्मा, नीरज आचार्य, विष्णु रिजाल र उषाकिरण तिम्सेनाले पनि टिकट पाउन सकेनन्।
टिकट कटौतीमा परेका अधिकांश नेताहरू महाधिवेशनका क्रममा ईश्वर पोखरेल पक्षमा खुलेर उभिएका थिए। यद्यपि, अध्यक्ष ओली निकट मानिएका केही नेताहरू समेत टिकटबाट वञ्चित भएपछि उम्मेदवार छनोटमा कुनै स्पष्ट मापदण्ड नअपनाइएको भन्दै प्रश्न उठ्न थालेको छ।
टिकट वितरणप्रति असन्तुष्टि सामाजिक सञ्जालसम्म पुगेको छ। नेतृ उषाकिरण तिम्सेनाले ठाकुर गैरेलाई टिकट नदिएकोप्रति आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जालमा ‘ठाकुर गैरेको पाप लाग्ने’ टिप्पणी गरेकी छन्। यसैबीच, उपमहासचिव योगेश भट्टराईले भने कार्यकर्तालाई धैर्य र एकताको अपिल गर्दै पार्टी निर्णयबाट विचलित नहुन आग्रह गरेका छन्।
यता, पार्टी अध्यक्ष केपी शर्मा ओली भने आफ्नो पुरानो निर्वाचन क्षेत्र झापा–५ बाटै उम्मेदवार बन्ने निश्चित भएको छ। पार्टीले उनलाई आगामी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ। तर, ‘हेभीवेट’ नेताहरूको टिकट कटौती हुँदै जाँदा पार्टीभित्र उम्मेदवार चयन प्रक्रिया ‘एकल निर्णय प्रणाली’ मा सीमित भएको भन्दै आलोचना चर्किँदै गएको छ।










प्रतिक्रिया दिनुहोस्