काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टी विधानविपरीत निर्णय गरे देशैभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले निर्वाचन आयोगले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई मान्यता नदिए कांग्रेस आन्दोलनमा जाने स्पष्ट पारे।
उनले भने, “निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई विश्वास छ। तर, यदि आयोगले विधान र कानुनविपरीत निर्णय गर्यो भने नेपाली कांग्रेस चुप लागेर बस्दैन। देशैभर केन्द्रदेखि वडासम्म चारतारे झण्डा र रूख अंकित झण्डा लिएर आन्दोलन हुनेछ।”
खड्काले त्यस्तो अवस्था आए पार्टीको आह्वानमा देशभरका नेता, कार्यकर्ता र भ्रातृ तथा शुभेच्छुक संघ–संस्थालाई आन्दोलनमा होमिन निर्देशन समेत दिएका छन्।
उनका अनुसार निर्वाचन आयोगको निर्णयले पार्टीको वैधानिकता र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठे कांग्रेसले सशक्त प्रतिवाद गर्नेछ। पत्रकार सम्मेलनमा कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।
निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी निर्णय गर्ने तयारी गरिरहेका बेला कांग्रेस नेतृत्वबाट आएको यो चेतावनीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।










प्रतिक्रिया दिनुहोस्