images
images

गगन–विश्वप्रकाशमाथि ५ वर्षे कारबाही गर्ने केन्द्रीय कार्यसमितिको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि कारबाही गर्ने निर्णय गरेको छ। उनीहरुलाई ५ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको हो ।

संस्थापन पक्षले बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी भएका नेताहरूमाथि अनुशासनात्मक कारबाही अघि बढाउने निर्णय गरेको हो। बैठकको निर्णयबारे कांग्रेस नेता कुन्दनराज काफ्लेले जानकारी दिएका छन्।

उनका अनुसार पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयविपरीत गतिविधि गरेको ठहर गर्दै महामन्त्रीद्वय र सहमहामन्त्रीलाई कारबाहीको दायरामा ल्याइएको हो। कारबाहीको प्रकृति र प्रक्रिया भने औपचारिक रूपमा सार्वजनिक गरिन बाँकी रहेको बताइएको छ।

यसैबीच, भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले सभापतिमा गगन थापा तथा महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई चयन गर्ने प्रक्रिया अघि बढाइसकेको छ। संस्थापन पक्षको कारबाही निर्णय र विशेष महाधिवेशनबाट अगाडि बढाइएको नेतृत्व चयन प्रक्रियाले कांग्रेसभित्रको विवाद थप चर्किएको देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो घटनाक्रमसँगै नेपाली कांग्रेस औपचारिक विभाजनको दिशातर्फ उन्मुख भएको संकेत देखिन थालेको छ। पार्टीभित्रको यो टकरावले आगामी दिनमा कांग्रेसको संगठनात्मक संरचना र राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्