काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सार्वजनिक गरेको कार्यतालिका अनुसार नयाँ नेतृत्व चुनावका लागि आजै राति ९ बजेदेखि मतदान सुरु हुनेछ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, निर्वाचन प्रक्रियाको सुरुवात मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन गरेर गरिनेछ,। त्यसपछि साढे १ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र छलफल गर्ने समय तोकिएको छ भने दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
यसैगरी, निर्वाचन कार्यतालिका अनुसार राति पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ र अन्त्यमा राति ९ बजेदेखि मतदान प्रक्रियाको सुरुवात हुनेछ।
यसअघि खम्बबहादुर खातीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई भंग गरेर मंगलबार बिहान वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वमा पाँच सदस्यीय नयाँ निर्वाचन समिति गठन गरिएको थियो। सोही समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
महाधिवेशनको बन्दसत्रभित्र मात्र नभई भृकुटीमण्डपमा समेत नयाँ नेतृत्व चयनको माग राखेर नाराबाजी भएको छ। कतिपय प्रतिनिधिहरूले ‘नो मोर शेरबहादुर’ भन्दै सभापति हटाउने प्रस्ताव आउन सक्ने संकेत गरेका छन्। यसैबीच, संस्थापन पक्षका नेताहरू सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । यो महाधिवेशनले नेपाली कांग्रेसको भावी नेतृत्व र कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्