काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि मङ्गलवार बिहान बसेको त्रिपक्षीय बैठक विना निष्कर्ष टुङ्गिएको छ। पार्टीका विभिन्न पक्षबीच सहमति जुट्न नसकेपछि बिहानको संवाद स्थगित गरी दिउँसो २:३० बजे पुनः बस्ने सहमति भएको छ।
पार्टीभित्रको एउटा पक्षले विशेष महाधिवेशन आह्वान गरी प्रक्रिया अगाडि बढाइरहेको छ भने अर्को पक्षले त्यसलाई स्वीकार गर्न तयार देखिएको छैन। यही विवादलाई सुल्झाउनका लागि तीनै पक्षका शीर्ष नेताहरू बिहानैदेखि छलफलमा जुटेका थिए।
विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेका अनुसार बिहानको बैठकमा प्रारम्भिक रूपमा विषय प्रवेश मात्र भएको छ। घिमिरेले भने, “विशेष महाधिवेशन आह्वान गर्नुपरेको कारण हामीले राख्यौं, उहाँहरूले सुन्नुभयो”। दिउँसोको बैठकमा भने विवाद समाधानका एजेन्डामा केन्द्रित भएर विस्तृत छलफल हुने नेताहरूले बताएका छन्।
वार्तामा सहभागी अर्का नेता प्रदीप पौडेलले आफूहरू एकताबद्ध, परिवर्तित र सबल कांग्रेसको पक्षमा रहेको कुरामा जोड दिएका छन् । नेपाली कांग्रेसको यो आन्तरिक खिचातानीले विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्छ वा सहमतिको नयाँ बाटो पहिल्याइन्छ भन्ने कुरा दिउँसो बस्ने बैठकको निर्णयमा निर्भर रहने देखिन्छ ।
त्रिपक्षीय वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी थिए। सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए।










प्रतिक्रिया दिनुहोस्