निराजन खड्का, काठमाडौँ । दार्जीलिङको एउटा साधारण घरबाट सुरु भएको सपना एकदिन करोडौँ नेपाली र भारतीय दर्शकको मुटुसम्म पुग्ला भन्ने कल्पना सायद कसैले गरेको थिएन । तर समयले कहिलेकाहीँ यस्ता पात्र जन्माउँछ, जसले सीमाना, भाषा र पहिचान सबैलाई एकै स्वरमा बाँधिदिन्छ । प्रशान्त तामाङ त्यस्तै अपवाद थिए ।
साधारण पहिरन, सादा स्वभाव र आत्मीय मुस्कानसहित ‘इन्डियन आइडल’को मञ्चमा उभिएका तामाङ केवल प्रतियोगी थिएनन् — उनी नेपाली भाषी समुदायको आशा, गर्व र पहिचान बने । उनका गीतले भाषाको भिन्नता मेटायो, राष्ट्रिय सीमाहरू मौन बनायो र केवल स्वर तथा भावना बाँकी रह्यो । जब उनी गाइरहन्थे, भारतका शहरदेखि नेपाली पहाडसम्म एउटै धड्कन सुनिन्थ्यो ।
इन्डियन आइडल सिजन–३ को उपाधि जित्दा त्यो केवल व्यक्तिगत विजय थिएन । त्यो दक्षिण एसियाली नेपाली पहिचानको अन्तर्राष्ट्रिय स्वीकारोक्ति थियो । नेपाल, भारत, भूटान, बंगलादेशदेखि विश्वभर छरिएका नेपालीहरू एउटै भावनामा बाँधिए । त्यो क्षण प्रतियोगिता मात्र रहेन, सांस्कृतिक एकताको उत्सव बनेको थियो ।
दार्जीलिङको साधारण परिवारबाट उठेर भारतीय टेलिभिजनको सबैभन्दा ठूलो गायन मञ्च ‘इन्डियन आइडल’ जित्नु केवल व्यक्तिगत उपलब्धि थिएन, त्यो नेपाली भाषी समुदायको साझा गर्व थियो । प्रशान्त तामाङको स्वरले भाषा र सीमाभन्दा माथि उठेर पहिचानको कथा सुनायो । उनका गीतले विश्वभर छरिएका नेपालीलाई एउटै भावनामा बाधेको थियो ।
गायनदेखि अभिनयसम्मको यात्रामा प्रशान्त तामाङ सधैं सादगी र आत्मीयताका प्रतीक बने । संगीत, चलचित्र र ओटीटी प्लेटफर्ममार्फत उनले नेपाली पहिचानलाई निरन्तर उजागर गरे । आज उनी हाम्रो बीचमा नभए पनि, उनले छाडेर गएको स्वर, योगदान र गौरव सधैं जीवित रहनेछ । नेपाली पहिचानलाई विश्वमञ्चमा पुर्याउने उनको सपना र संघर्ष इतिहासमा अमर भएर रहनेछ ।
प्रशान्त तामाङको जीवन सरल थियो । गायनमा प्रवेश गर्नु अघि कोलकाताको प्रहरी सेवामा कार्यरत उनी सुरक्षाको ड्युटी र संगीतप्रतिको मोह सँगसँगै अघि बढाइरहेका थिए ।
शान्त तामाङ भारतीय टेलिभिजन च्यानल सोनी इन्टरटेन्मेन्ट टिभीबाट प्रसारण भएको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल २००७’ का विजेता बनेर इतिहास रच्ने प्रथम नेपाली मूलका भारतीय हुन् । दार्जीलिङको तुङ्सुङमा जन्मिएका तामाङ साधारण परिवारबाट आएका थिए । पिताको प्रहरी सेवामै रहँदा सवारी दुर्घटनामा निधन भएपछि उनले कोलकाता प्रहरीमा जागिर गर्ने अवसर पाए । औपचारिक रूपमा संगीत शिक्षा नलिएका तामाङले प्रहरी सेवाकै क्रममा अर्केस्ट्रामा गीत गाउँथे । शान्त स्वभावका उनी साथीहरूको आग्रहमा कोलकाता अडिसनमा सहभागी भएपछि उनको सफलताको यात्रा सुरु भएको हो ।
इन्डियन आइडलको यात्रामा निर्णायक अनु मलिक, जावेद अख्तर, अलिशा चिनाइ र उदित नारायणबाट सुरुवाती चरणमा खासै प्रशंसा नपाए पनि, उनको सादा व्यक्तित्व र भावनात्मक गायनले दर्शकको मन जित्दै लग्यो । अन्ततः उपाधि जितेसँगै उनी रातारात चर्चित बने । सोनी टिभीसँग एक करोड रुपैयाँको सम्झौता, कार र आफ्नै एल्बम बनाउने अवसर प्राप्त गर्नुका साथै उनले उपेक्षित र उत्पीडित समुदायको आत्मसम्मान उच्च बनाएको मानिन्छ । उनको सफलताले भारत मात्र होइन, नेपाल र अन्य देशका नेपालीहरूलाई पनि गर्वको अनुभूति गरायो ।
उपाधिपछि प्रशान्त तामाङले संगीतसँगै अभिनय क्षेत्रमा पनि पाइला चाले । उनले नेपाली चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ मा अभिनय गरेका छन् । साथै, नेपाल सरकारले सन् २०१० अक्टोबरमा उनलाई नेपाल पर्यटन वर्ष २०११ का लागि सद्भावना राजदूत नियुक्त गरेको थियो, जसले उनको लोकप्रियता र योगदानलाई औपचारिक मान्यता दिएको देखिन्छ ।
उपाधिपछि उनले हिन्दी, नेपाली र अन्य भाषामा गीत गाए, चलचित्रमा पार्श्वगायन गरे र नेपाली फिल्म परदेशी, गोर्खापल्टन लगायतमा अभिनय गरे । पछिल्लो समय भने उनी गायनभन्दा फिल्ममा सक्रिय थिए । सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यु गरेका तामाङले अमेजन प्राइमको पाताल लोक सिजन–२ (२०२५) मा स्नाइपर ड्यानियल लेचो (भिलेन) भूमिकामा देखिएका थिए ।
दुर्भाग्यवश, जनवरी ११, २०२६ मा दिल्लीस्थित आफ्नै निवासमा मात्र ४२ वर्षको उमेरमा प्रशान्त तामाङको जीवन यात्रा अचानक टुंगियो । मञ्चमा गीत गाएर करोडौँलाई जोड्ने त्यो स्वर आज मौन भएको छ । उनको मृत्युको खबरले आज नेपाली भाषी संगीत र चलचित्र जगत् शोकमा डुबेको छ ।












प्रतिक्रिया दिनुहोस्