काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पार्टीभित्रैबाट योजनाबद्ध रूपमा घेराबन्दी गरिएको आरोप लगाउँदै अब चुप नबस्ने चेतावनी दिएका छन्। कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र सङ्ख्याको बलमा आफूहरूलाई हेप्ने प्रयास भएको गुनासो गरे।
थापाले बैठकमा आफूहरू अल्पमतमा परे पनि पार्टीपंक्ति र समर्थकको साथ भने आफ्नो पक्षमा रहेको दाबी गरे। “यहाँ मलाई र विश्वप्रकाशलाई जति घेराबन्दी गरे पनि यहाँको घेरा सानो छ, तर पार्टीका साथीहरूको घेरा ठूलो छ,” भन्दै उनले समर्थकहरूको साथ फराकिलो रहेको बताए।
उनले नेतृत्व तहमा सङ्ख्याको आधारमा दम्भ देखाइएको आरोप लगाउँदै त्यसले आफूहरूलाई पार्टीभित्र सीमित राख्न खोजिएको स्पष्ट पारे। “तपाईंहरूले यहाँ सङ्ख्याको आधारमा दम्भ राख्नुभयो। त्यसैले हामीलाई साँघुरो घेराबाट फराकिलो घेरातर्फ जान बाध्य बनाइराख्नुभएको छ,” थापाको भनाइ थियो।
महामन्त्री थापाले अब पार्टीका कार्यकर्ता र समर्थकबीच गएर आफूहरूले गरेको संघर्ष र धारणा स्पष्ट रूपमा राख्ने संकेत गरे। “हामीलाई पार्टीपंक्तिमा जान बाध्य बनाइएको छ। अब हामी चुप लागेर बस्दैनौं,” उनले भने।
उनका अनुसार पार्टीभित्र उठाइएका विषयहरू दबाउने र फरक धार राख्ने नेतृत्वलाई कमजोर बनाउने प्रयास भइरहेको छ। यस्तो प्रवृत्तिले पार्टीलाई अझ कमजोर बनाउने उनको चेतावनी छ।
थापाले कांग्रेसलाई सशक्त, लोकतान्त्रिक र जनमुखी बनाउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीभित्रको बहस अब बैठक कोठामा मात्र सीमित नरहने संकेत गरे।










प्रतिक्रिया दिनुहोस्