राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा समेटिएकी सिर्जना सिज्जु (सिर्जना वली) ले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। सोलो ट्राभलमार्फत पर्यटन प्रवर्द्धनमा सक्रिय सिज्जुले सामाजिक सञ्जालमार्फत आफूले राजनीतिमा नआउने निर्णय गरेको स्पष्ट पारेकी हुन्।
सिज्जुले यात्राका क्रममा हतारमा लिइएको निर्णय आफूलाई उपयुक्त नलागेको भन्दै नाम फिर्ता लिएको बताएकी छन्। “मेरो जीवनका धेरै महत्वपूर्ण निर्णयहरू यात्रामै भएका छन्, तर यो निर्णय अलि हतारमा भएछ,” उनले लेखेकी छन्।
आफूलाई कुनै पार्टीगत योगदानका कारण होइन, पर्यटन क्षेत्रमा गरेको कामका आधारमा ‘टिम बालेन’मार्फत रास्वपामा सिफारिस गरिएको उनको तर्क छ । “देशका लुकेका गन्तव्य चिनाउने अभियानमै म केन्द्रित छु। अहिले राजनीति भन्दा पनि यही कर्मलाई निरन्तरता दिन चाहन्छु,” सिज्जुले उल्लेख गरेकी छन्।
सिज्जुले कर्णाली, सुदूरपश्चिम, पहाडी तथा दुर्गम भूगोलमा लामो समय यात्रा गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा गरेको योगदान उल्लेख गर्दै भनिन्, “हामीले लाखौंलाई देशमै रोक्न नसके पनि हजारौंलाई ‘देशमै केही गर्न सकिन्छ’ भन्ने आशा देखाएका छौं।”
आफ्नो पारिवारिक राजनीतिक पृष्ठभूमिबारे उठेका प्रश्नहरूमा उनले स्पष्ट पार्दै भनिन् कि राजनीति बुझ्छु, तर अहिले राजनीतिक पद ओगट्ने आवश्यकता छैन। “म कुनै ठाउँ ओगटेर बसेकी छैन। राजनीति बाहिर बसेर पनि देशका लागि काम गर्न सकिन्छ,” उनको भनाइ छ।
सिज्जुले सबै शुभेच्छुकहरूलाई धन्यवाद दिँदै हाल आफूलाई राजनीतिमा आउन दबाब नदिन आग्रह गरेकी छन्। “पर्यटन नेपालको अर्थतन्त्रको बलियो आधार हो। साना–साना सुधारबाट ठूलो परिवर्तन सम्भव छ,” भन्दै उनले आगामी दिनमा पनि पर्यटन क्षेत्र सशक्त बनाउन निरन्तर लागिरहने प्रतिबद्धता जनाएकी छन्।














प्रतिक्रिया दिनुहोस्