images
images

राजनीतिमा खुलेका मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्री कार्कीको आग्रह, कुलमानलाई सरकार छाड्न सुझाव

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भई सक्रिय भूमिका खेल्न थालेका तथा चुनाव लड्ने तयारीमा रहेका मन्त्रीहरूलाई सरकार छाड्न आग्रह गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङलाई विशेष रूपमा सरकार छोड्दा उपयुक्त हुने सुझाव दिएकी हुन् ।

बैठकमा प्रधानमन्त्री कार्कीले कुलमानलाई लक्षित गर्दै अब चुनावको तयारी र पार्टीको काममा लाग्ने भए सरकार बाहिर बसेर गर्न सकिने बताएको स्रोतले जनाएको छ ।

कुलमान घिसिङ उज्यालो नेपाल पार्टी स्थापना हुँदा संरक्षक मात्र बनेका थिए । तर हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने सहमति भएपछि गैरदलीय सरकारमा उनको उपस्थितिलाई लिएर मन्त्रिपरिषद्भित्रै र बाहिर प्रश्न उठ्न थालेको थियो ।

चुनावका लागि गठन गरिएको गैरदलीय सरकारमा राजनीतिक दलको नेतृत्व तहमा पुगेका व्यक्ति रहनु उपयुक्त नहुने भन्दै केही मन्त्रीहरूले नै प्रधानमन्त्रीलाई कुलमानलाई हटाउन सुझाव दिएको स्रोतको दाबी छ । यिनै प्रश्नहरू बढ्दै गएपछि प्रधानमन्त्री कार्कीले उनलाई सरकार छाड्न सुझाव दिएकी हुन् । यद्यपि कुलमानले अझै रास्वपाको उपसभापतिका रूपमा शपथ लिइसकेका छैनन् ।

यसै बैठकमा प्रधानमन्त्री कार्कीले रास्वपामा खुलेर संलग्न भएका तथा चुनाव लड्ने तयारीमा रहेका अन्य मन्त्रीहरूलाई पनि राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी छन् । गैरदलीय सरकार भएकाले सार्वजनिक रूपमा प्रश्न उठ्न थालेको भन्दै परिस्थिति बुझिदिन उनले अनुरोध गरेकी थिइन् ।

हाल ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता रास्वपाको गतिविधिमा सक्रिय देखिएका छन् । प्रधानमन्त्रीको आग्रहपछि अब राजनीतिक गतिविधिमा खुलेका मन्त्रीहरूको भूमिकाबारे थप निर्णय हुने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्