काठमाण्डौ – नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायकको रूपमा उक्त सम्मान प्रदान गरिएको हो। आइतबार सम्पन्न समारोहमा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरेका थिए।
बैंक तथा बीमा क्षेत्रसहित समग्र वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पुर्याएको योगदानको कदरस्वरूप नबिल बैंकलाई सम्मान गरिएको आयोजकले जनाएको छ। चार दशकभन्दा बढी समयदेखि नबिल बैंकले वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन तथा प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानी गर्दै नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएको छ। गुणस्तरीय वित्तीय सेवामा पहुँच विस्तार, देशव्यापी डिजिटल बैंकिङ सेवा, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन, र राष्ट्रिय राजस्वमा योगदान बैंकका प्रमुख उपलब्धि मानिएका छन्।
सम्मानप्रति प्रतिक्रिया दिँदै सीईओ ज्ञवालीले ‘विकास नायक २०८२’ सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्रनिर्माण यात्राको कदर भएको बताए। उनले वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन, ऊर्जा तथा पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धिमा बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।
सन् १९८४ मा नेपालको पहिलो संयुक्त लगानी बैंकका रूपमा स्थापना भएको नबिल बैंकले पहिलो कम्प्युटराइज्ड बैंकिङ सेवा सुरु गर्दै बैंकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको छ। एनबैंक एपलगायतका डिजिटल प्लेटफर्ममार्फत सेवाबाट वञ्चित समुदायसम्म बैंकिङ पहुँच विस्तार गर्दै आएको बैंकले समय, दूरी र लागत घटाउन योगदान पुर्याएको छ।
ऊर्जा तथा पूर्वाधार क्षेत्रमा पनि नबिल बैंक अग्रणी रहँदै आएको छ। सन् १९९८ मा जलविद्युत् क्षेत्रमा लगानी गर्ने पहिलो वाणिज्य बैंक बनेको नबिलले हालसम्म करिब ७५ अर्ब रुपैयाँ प्रतिबद्धता गर्दै ३,१०० मेगावाटभन्दा बढी ऊर्जा परियोजनामा वित्तीय सहयोग गरेको छ।
राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान पुर्याउँदै नबिल बैंक आठ पटकसम्म वित्तीय क्षेत्रकै सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भइसकेको छ। बैंक सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा वित्तीय साक्षरताका क्षेत्रमा पनि सक्रिय छ।
हाल नबिल बैंकले देशभरका २६८ शाखा र ३२१ एटीएममार्फत २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ।














प्रतिक्रिया दिनुहोस्