राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ। तीमध्ये १८ सिट रिक्त हुन लागेकाले निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ। बाँकी एक सदस्य भने राष्ट्रपतिबाट मनोनित गरिनेछ।
आगामी फागुन २० गतेदेखि एमालेका आठ, नेकपाका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक तथा एक जना मनोनित सांसदको पदावधि समाप्त हुँदैछ। पदावधि सकिन लागेका मनोनित सांसद वामदेव गौतम हुन्।
कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा नेकपाका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल रहेका छन्। भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभामा निर्वाचित भएका नेता हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन्।
यसैगरी, एमालेबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि आगामी फागुनमा सकिँदैछ।
जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पदावधि पनि सोही समयमा समाप्त हुँदैछ।
राष्ट्रियसभाका कुल ५९ सदस्यमध्ये १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। निर्वाचन कार्यतालिकाअनुसार भोलि (बुधबार) उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनेछ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ। कार्यकाल सकिन लागेका सांसदहरूमा कांग्रेसका प्रतिनिधि कोही पनि छैनन्। यद्यपि, वर्तमान मतभारका आधारमा कांग्रेस सबैभन्दा अगाडि रहेको देखिन्छ।
रिक्त हुन लागेका १८ सिटका लागि कांग्रेसले सात सिटमा दाबी गर्दै एमाले र नेकपासँग सहकार्यको प्रस्ताव अघि सारेको छ। कांग्रेसले एमालेलाई छ, नेकपालाई चार तथा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई एक सिट दिने प्रस्ताव गरेको बताइएको छ।
यसैबीच, गएको आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रियसभा निर्वाचनमा सहकार्यका विषयमा छलफल भएको थियो। पछिल्लो समय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखकलगायत नेताहरू एमाले र नेकपासँग चुनावी तालमेलका लागि सक्रिय देखिएका छन्।














प्रतिक्रिया दिनुहोस्