काठमाडौँ । महाधिवेशनको समय तालिकालाई लिएर आन्तरिक किचलोमा परेको नेपाली कांग्रेसले सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीभित्र मतभेद चर्कँदै फुटसम्मको बहस हुन थालेपछि मध्यमार्गी समाधान खोज्ने उद्देश्यले बैठक आह्वान गरिएको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले १५ औँ महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव थप बढेको छ।
गत शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले १५ औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका तय गरेको थियो। तर महामन्त्री पक्षले विशेष महाधिवेशन र संस्थापन पक्षले नियमित महाधिवेशनको प्रस्ताव अघि सारेपछि पार्टीभित्र मतभेद गहिरिँदै गएको छ। विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा हलसमेत बुक गरिसकेको बताइएको छ।
यसैबीच, सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तथा निकट नेताहरूसँग पटक–पटक छलफल गर्दै आएका छन्। उनले हिजो पनि आफूनिकट पदाधिकारी, पूर्व पदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूसँग परामर्श गरेका थिए।












प्रतिक्रिया दिनुहोस्