images
images

मादुरो पक्राउ, अमेरिकी सेनाको गोप्य अपरेसन सार्वजनिक

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध गरेको सैन्य कारबाही ३० मिनेटभन्दा कम समयमा सम्पन्न भएको र उक्त अपरेसनमा १५० भन्दा बढी सैन्य विमान प्रयोग गरिएको खुलेको छ। अमेरिकी अधिकारीहरूका अनुसार ‘एब्सोल्युट रिजोल्भ’ नाम दिइएको उक्त सैन्य अपरेसन महिनौँदेखि गोप्य रूपमा योजना र अभ्यास गरिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालमा आफ्ना स्वास्थ्यसम्बन्धी पोस्ट गरिरहेका बेला भेनेजुएलाविरुद्धको ‘ठूलो स्तरको’ सैन्य कारबाही अन्तिम चरणमा पुगेको बताइएको छ।

अपरेसन सुरु भएलगत्तै ३० मिनेटमै सम्पन्न भएको र केही घण्टाभित्रै मादुरोको शासन अन्त्य भएको अमेरिकी दाबी छ। आक्रमणअघि अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक आफ्नो सैन्य उपस्थिति विस्तार गरेको थियो। गुप्तचर निकायहरूले मादुरोको दैनिक गतिविधि, बसोबास, बानीबेहोरा तथा सुरक्षा व्यवस्थासम्बन्धी सूक्ष्म विवरण अध्ययन गरेका थिए।

राष्ट्रपति ट्रम्पका अनुसार मादुरो बस्ने निवासको हुबहु नक्कल बनाएर विशेष अभ्यास गरिएको थियो। ‘त्यही इस्पात र संरचनासहितको घर बनाइयो, जहाँ सैनिकहरूले पटक–पटक अभ्यास गरे,’ ट्रम्पले बताएका छन्। संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनले तयारी अत्यन्त गहन रहेको उल्लेख गर्दै भने, ‘हामी गल्ती नहोस् भनेर बारम्बार अभ्यास गर्छौं।’

सीबीएस न्युजका अनुसार पूर्वी समयअनुसार राति १०:४६ बजे ट्रम्पले अपरेसनको अन्तिम अनुमति दिएका थिए। मौसम अनुकूल भएपछि मात्र कारबाही अघि बढाइएको बताइएको छ।

हेलिकोप्टरहरू समुद्रमाथि अत्यन्त न्यून उचाइमा उडेका थिए भने माथिबाट अमेरिकी विमानहरूले सुरक्षा घेरा दिएका थिए। भेनेजुएलाको हवाई सुरक्षा प्रणाली निष्क्रिय बनाएपछि १५० भन्दा बढी अमेरिकी विमान देशको हवाई क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि डेल्टा फोर्सका कमान्डोहरू मादुरो रहेको सैन्य आधारमा पुगेका थिए। अमेरिकी दाबीअनुसार मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सुरक्षित कोठामा प्रवेश गर्नुअघि नै नियन्त्रणमा लिइएका थिए।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले मादुरो भाग्न खोज्दा ढोका बन्द गर्न नसकेको बताएका छन्। ‘ढोका निकै भारी थियो, उनी त्यहाँसम्म पुगे तर बन्द गर्न सकेनन्,’ ट्रम्पले भने। मादुरो र उनकी पत्नीलाई हेलिकोप्टरमार्फत अमेरिकी युद्धपोतमा लगिएको र त्यसपछि अमेरिकातर्फ पठाइएको बताइएको छ। ट्रम्प प्रशासनले मादुरोविरुद्ध न्युयोर्कमा मुद्दा चलाउने तयारी गरेको जनाएको छ।

यद्यपि भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले आक्रमणका क्रममा सर्वसाधारण र सैनिकको मृत्यु भएको दाबी गर्दै मादुरोलाई देशको वैध राष्ट्रपति भएको बताइन्। उनले वासिङ्टनसँग वार्ताको सम्भावना खुला रहेको पनि बताइन्।

यस सैन्य कारबाहीले अमेरिका र अन्तर्राष्ट्रिय समुदायमा आलोचना जन्माएको छ। तर ह्वाइट हाउसले यसलाई ‘निर्णायक, सीमित र सावधानीपूर्वक सम्पन्न गरिएको कारबाही’ भनेको छ।

प्रतिक्रिया दिनुहोस्