काठमाडौं । सुनसरीको सीमावर्ती क्षेत्र लौकही नजिक सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन् र अवस्था तनावग्रस्त बनेको छ।
गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटना बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बलको बेस क्याम्प बीओपी लौकही आसपास भएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका अनुसार भन्सार छलीका सामान बोकेको अटो रोक्ने क्रममा विवाद उत्पन्न भएको र सो समूहबाट पहिला फायरिङ भएपछि सशस्त्र प्रहरीले जवाफी फायरिङ गरेको जनाएको छ। जवाफी फायरिङका क्रममा पछाडिबाट आइरहेको सिटी चालक विजय साहलाई गोली लागेको सशस्त्र प्रहरीको भनाइ छ।
तर स्थानीयले भने सशस्त्र प्रहरीले अनावश्यक रूपमा गोली चलाएको आरोप लगाएका छन्। उनीहरूका अनुसार राति गोली चलेको आवाज सुनेपछि बाहिर निस्कँदा वरिपरि सशस्त्र प्रहरी मात्र देखिएको र एक व्यक्ति गोली लागेको अवस्थामा फेला परेको थियो।
घटनापछि आक्रोशित स्थानीयले मृतकको शव पूर्व–पश्चिम राजमार्गमा राखी सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा समेत भएको जनाइएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गर्नुपरेको छ।
गोली प्रहार गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन जारी राखेपछि सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनले अवस्था नियन्त्रणमा लिन आन्दोलनरत पक्षसँग वार्ताको तयारी गरिरहेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्