काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस–पीएमएस) प्रदान गर्दै आएको सिद्धार्थ क्यापिटल लिमिटेडको एसेट अन्डर म्यानेजमेन्ट (एयूएम) १ अर्ब रुपैयाँ नाघेको छ।
कम्पनीका अनुसार यो उपलब्धिले सिद्धार्थ क्यापिटलप्रति लगानीकर्ताहरूको विश्वास र संस्थाको सुदृढ व्यवस्थापन क्षमताको प्रतिबिम्ब गरेको छ। सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दीप कार्कीले यो उपलब्धि संस्थामात्रको नभई सम्पूर्ण ग्राहक, साझेदार, नियामक निकाय तथा कर्मचारीहरूको निरन्तर विश्वास र सहयोगको परिणाम भएको बताए।
उनले दीर्घकालीन, सुरक्षित र दिगो प्रतिफल प्रदान गर्ने लक्ष्यका साथ लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आएको उल्लेख गरे। साथै, लगानीकर्ताको हितलाई केन्द्रमा राखी पारदर्शिता, जोखिम व्यवस्थापन र नियामक मापदण्डको पूर्ण पालना संस्थाको प्रमुख प्राथमिकता रहेको बताए।
सिद्धार्थ क्यापिटलले व्यक्तिगत तथा संस्थागत ग्राहकहरूका लागि लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन, सामूहिक लगानी कोष, निक्षेप सदस्य सेवा, धितोपत्र प्रत्याभूति तथा संस्थागत परामर्शलगायतका विविध सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले आगामी दिनमा नवीन लगानी उपकरणको विस्तार, प्रविधिमा आधारित सेवाको सुदृढीकरण तथा लगानीकर्ताको अनुभवलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। यस महत्वपूर्ण उपलब्धिमा सिद्धार्थ क्यापिटलले ग्राहक, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।












प्रतिक्रिया दिनुहोस्