काठमाडौं । पुराना दलको राजनीतिक संस्कार तोड्ने दाबी गर्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वयं भने समानुपातिक उम्मेदवार छनोटमै आलोचनाको घेरामा परेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल रास्वपाको समानुपातिक बन्दसूचीमा परेपछि पार्टीको ‘नयाँ राजनीति’ माथि प्रश्न उठ्न थालेका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको ११० जनाको समानुपातिक सूचीमा खस–आर्य समूहअन्तर्गत ढकालको नाम समावेश गरिएको छ। यो सूची काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङसँग जोडिएको ‘उज्यालो नेपाल’ सँगको सहमतिअनुसार तयार भएको भनिए पनि बन्दसूचीमा प्रभावशाली व्यावसायिक परिवारका सदस्य प्राथमिकतामा पर्नु आलोचकहरूका लागि बहसको विषय बनेको छ।
ढकाल युवा उद्यमी भए पनि उनी नेपालकै ठूला व्यापारिक समूह आइएमई ग्रुपसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। फुटबल चितवन क्लब ९एफसी चितवन० का अध्यक्ष र हस्पिटालिटी व्यवसायमा सक्रिय रहँदै आएका ढकालको राजनीतिक यात्रा आर्थिक हैसियत र पारिवारिक पहुँचको बलमा सहज बनेको आरोप लाग्दै आएको छ।
समानुपातिक प्रणाली पिछडिएका, आवाजविहीन र प्रतिनिधित्वबाट वञ्चित समुदायका लागि व्यवस्था गरिएको भए पनि रास्वपाले खस–आर्य समूहबाटै शक्तिशाली पृष्ठभूमिका व्यक्तिलाई अगाडि सार्नुले पार्टीको वैचारिक स्थिरता र प्रतिबद्धतामाथि गम्भीर प्रश्न खडा भएको विश्लेषकहरू बताउँछन्।
नयाँ अनुहार र पुराना अभ्यासबीचको यो विरोधाभासले रास्वपा साँच्चिकै वैकल्पिक शक्ति हो कि केवल नयाँ आवरणमा पुरानै संरचना पुनःस्थापित गर्ने प्रयास हो भन्ने बहसलाई थप चर्काएको छ।












प्रतिक्रिया दिनुहोस्