काठमाडौँ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व हर्षोल्लासका साथ मनाउँदैछन्। गुरुङ समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा विशेष महत्वका साथ मनाउने परम्परा छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हो। यस वर्ष गुरुङ समुदायले ‘त’ अर्थात् घोडा वर्षलाई स्वागत गर्दै नयाँ वर्षको प्रारम्भ गरेका छन्।
गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा परम्परागत विश्वासअनुसार सूर्यको ताप सबैभन्दा पहिले पर्ने भएकाले प्रत्येक वर्ष पुस १५ गते तमु ल्होसार मनाइने गरिन्छ।
यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास भएका क्षेत्रमा सूर्यको ताप पुग्ने विश्वासका आधारमा माघ र फागुन महिनामा ल्होसार मनाइन्छ। पुस १५ को रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि दिन लम्बिँदै जाने भएकाले पनि तमु ल्होसारलाई प्रकृति र समयको नयाँ चक्रसँग जोडेर विशेष महत्व दिइने गरिएको छ।
तमु ल्होसारका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले गुरुङ समुदायसहित सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।








प्रतिक्रिया दिनुहोस्