images
images

विदेशी मुद्रा तस्करी प्रकरण: दुई जनामाथि सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौँ– टोखाबाट करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको घटनामा दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार जिल्ला अदालतमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ का ५३ वर्षीय नारायण पौडेल र ४३ वर्षीय कुसाङ लामाविरुद्ध अभियोग दायर गरेको हो।

प्रहरीले चैत ४ गते कुसाङ लामा चालक रहेको ना ७ ख १६५२ नम्बरको ट्रकबाट विदेशी मुद्रा बरामद गरेको थियो। ट्रकको चालक बस्ने स्थानमाथिको क्याबिनमा फल्स बटम बनाएर खैरो रङको टेपले बेरेको अवस्थामा १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर फेला परेको थियो। बरामद रकमको नेपाली मूल्य २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ रहेको अभियोगपत्रमा उल्लेख छ।

पौडेलले उक्त सम्पत्ति खासाको व्यापार र जग्गा प्लटिङबाट आएको दाबी गर्दै काठमाडौं, सिन्धुपाल्चोक र ताप्लेजुङमा आफ्नो जग्गा रहेको बयान दिएका छन्। टोखामा घरसहितको १९ आना जग्गा श्रीमतीलाई ससुराले दिएको र आफ्नो नाममा रहेको धेरै सम्पत्ति ससुराली पक्षबाट प्राप्त भएको दाबीसमेत उनले गरेका छन्।

अनुसन्धानअनुसार टोखास्थित झोरबाट ट्रकमा युरो र डलर लोड गरी चीनतर्फ पठाउने योजनाका मुख्य व्यक्ति पौडेल रहेको प्रहरीले जनाएको छ। मुद्रा बरामद भएपछि लामो समय फरार रहेका पौडेल गत असार ३२ गते काठमाडौँ जिल्ला अदालतमा आफैँ हाजिर भएका थिए। त्यसपछि न्यायाधीश कृष्णप्रसाद शर्माको इजलासले उनलाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

चालक कुसाङ लामालाई भने यसअघि नै पुर्पक्षका लागि थुनामा पठाइएको छ।

अनुसन्धानका क्रममा टोखाको महादेवटार हाइटस्थित पौडेलकै घरबाट ट्रकमा रकम लोड गरिएको सीसीटीभी फुटेज प्रहरीले फेला पारेको छ। सो फुटेजअनुसार पौडेलले साँझ करिब ६ः३० बजे ट्रकमा रकम राखेका थिए र सोही राति करिब ११ बजे ट्रकबाट विदेशी मुद्रा बरामद भएको थियो। पक्राउअघि पौडेल र चालक लामाबीच पटक–पटक फोन सम्पर्क भएको कल डिटेल रेकर्ड (सीडीआर) बाट पनि देखिएको छ।

राजस्व अनुसन्धान विभाग र प्रहरीको निष्कर्षअनुसार उक्त रकम चीनबाट सुन तस्करी गरी ल्याउनका लागि भुक्तानीस्वरूप बाहिर पठाउन लागिएको थियो। चालक कुसाङ लामा यसअघि २०७३ सालमा ७ किलो सुनसहित पक्राउ परी पाँच वर्ष जेल सजाय काटेर छुटेका व्यक्ति भएको र उनलाई प्रयोग गरिएको ट्रकसमेत पौडेलले नै किनिदिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस्