images
images

समानुपातिक बन्द सूची बुझाउने आज अन्तिम दिन, दलहरू नाम टुंग्याउने कसरतमा

काठमाडौँ– फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका छन्। समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेकाले मुख्य दलहरू नामावली टुंग्याउने अन्तिम कसरतमा छन्। निर्वाचन आयोगको कार्यतालिकाअनुसार राजनीतिक दलहरूले आजसम्म समानुपातिक उम्मेदवारको बन्द सूची आयोगमा दर्ता गराइसक्नुपर्नेछ।

आज बुझाइएका बन्द सूचीको भोलिदेखि २० गतेसम्म प्रारम्भिक परीक्षण गरिने आयोगले जनाएको छ। प्रारम्भिक परीक्षणका क्रममा देखिएका कमजोरी सच्याउन दलहरूलाई पुस २१ देखि २७ गतेसम्म समय दिइनेछ। त्यसपछि सच्याइएका बन्द सूची पुस २८ देखि माघ ३ गतेसम्म पुनः परीक्षण गरिनेछ। आयोगले माघ ४ गते बन्द सूची सार्वजनिक गर्ने तयारी गरेको छ भने माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ।

यसैबीच, हिजो तीन साना दलका १३४ जनाले सबै प्रक्रिया पूरा गरी समानुपातिक बन्द सूची बुझाइसकेका छन्। उम्मेदवारको नाम मतदाता सूचीमा रहे–नरहेको परीक्षणपछि आयोगबाट निस्सा पाएर ती दलहरूले बन्द सूची दर्ता गराएका हुन्। नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टीले हिजो दिउँसोसम्म बन्द सूची बुझाइसकेको आयोगले जनाएको छ।

मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले आज बन्द सूची बुझाउने तयारी गरेका छन्।यसअघि १०० वटा राजनीतिक दलले ९३ वटा चुनाव चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्