जेनजी प्रतिनिधिका एक अगुवा सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङलाई एकतामा नसमेटेको भन्दै असन्तुष्टि जनाएका छन्। रवि, बालेन र कुलमानबीच एकताको प्रयास भइरहे पनि आइतबार बिहान अन्ततः रवि र बालेनबीच मात्र सहमति भएपछि गुरुङले त्यसप्रति विरोध व्यक्त गरेका हुन्।
परिवर्तन चाहने जनताको भावनाविपरीत कुलमान घिसिङलाई एकताबाट बाहिर राखिनु दुःखद भएको उल्लेख गर्दै गुरुङले अझै पनि कुलमानलाई समेटिएन भने आफूहरूलाई पक्ष लिनुपर्ने अवस्था आउने चेतावनी दिएका छन्।
मध्यराति फेसबुकमा लेखेको स्टाटसमा गुरुङले भनेका छन्, ‘यो अवसर होइन, गम्भीर परिस्थिति हो। यस्तो समयमा सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिनुपर्ने अपेक्षा थियो। तर निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दुःखद छ। अलग राखिएको हो वा अलग रहन खोजिएको हो, समयले बताउनेछ।’
उनले थप लेखेका छन्, ‘आदरणीय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ—यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस्। देशलाई विभाजन होइन, एकता चाहिएको छ। त्यसैले प्रश्न उठ्छ—के तपाईंहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनुहुन्छ, कि केवल त्यसको भ्रम मात्रै फैलाइँदैछ? जेनजीले हेरिरहेको छ।’
यद्यपि रवि लामिछाने र बालेन्द्र शाहबीच एकता सहमति भएपछिसमेत कुलमान घिसिङलाई समेट्ने प्रयासस्वरूप वार्ता भने जारी रहेको बताइएको छ।










प्रतिक्रिया दिनुहोस्