काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच सोमवार भएको भेटवार्ताले नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको छ। वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य हुनुपर्ने आवाज उठिरहेका बेला दुई प्रभावशाली नेताबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सोमबार राति काठमाडौंमा असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा रवि र बालेनबीच भेटवार्ता भएको हो। उनीहरुबिच साढे ५ घण्टा कुराकानी भएको हो । भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएको दृश्यले समेत राजनीतिक वृत्तमा चासो बढाएको छ।
सहकारी ठगीलगायत अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि शुक्रबार उच्च अदालतको आदेशबाट रिहा भएका थिए । यसलगत्तै उनले राजनीतिक सक्रियता बढाइरहेका बेला सोमबार राति बालेनसँग भेटवार्ता गरेका हुन् ।
भेटमा सहभागी असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भएको थियो। भेटवार्तामा उठेका ठोस विषय सार्वजनिक नगरिए पनि देशको वर्तमान राजनीतिक अवस्था, वैकल्पिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने आवश्यकता र सम्भावित सहकार्यका विषयमा सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको राजनीतिमा ल्याएको फरक परिस्थितिका माझ उनीहरुबिचको छलफललाई राजनीतिक वृत्तमा महत्त्वको साथ हेरिएको छ । यो भेटलाई पछिल्लो समय देखिएको राजनीतिक दूरी घटाउने प्रयासका रूपमा पनि विश्लेषण गरिएको छ। विशेषगरी युवामाझ लोकप्रिय दुई नेताबीचको संवादले भविष्यको राजनीतिक समीकरणबारे नयाँ बहस सुरु गराएको छ।
रवि र बालेनसँगको छलफलमा रास्वपाका उपसभापति डिपी अर्याल, नेता शाहसमेत सहभागी थिए । बालेन समूहबाट कुमार बेन र निश्चल बस्नेसँगै थिए। सो छलफलमा रविले आगामी निर्वाचनमा रास्वपाका तर्फबाट बालेनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको कुराहरु बाहिरिएका छन् ।
भेटको समन्वय गरेका रास्वपा नेता असिम साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’
रवि–बालेन भेटवार्ताले वैकल्पिक राजनीतिक धारबीच सम्भावित एकता र सहकार्यतर्फ देशको राजनीति मोडिन सक्छ कि भन्ने बहसलाई थप तीव्र बनाएको छ। यो भेटपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ, जहाँ समर्थकदेखि आलोचकसम्म आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।
विशेषगरी पुराना दल र परम्परागत राजनीतिक अभ्यासप्रति आक्रोशित नागरिकहरू रवि–बालेन भेटवार्तापछि उत्साहित देखिएका छन्। उनीहरूले यस भेटलाई ‘नयाँ राजनीतिक विकल्पको संकेत’, ‘आशाको संकेत’ र ‘पुरानो राजनीतिमाथिको चुनौती’का रूपमा व्याख्या गरिरहेका छन्।
अर्कोतर्फ, यो राजनीतिक संवादले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता परम्परागत दलहरूका लागि दबाब र चिन्ताको वातावरण सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ। वैकल्पिक धारका दुई प्रभावशाली अनुहारबीच नजिकिँदो सम्बन्धले आगामी दिनमा राजनीतिक समीकरण फेरिन सक्ने संकेत दिएको भन्दै पुराना दलहरू तस्रित बनेका छन् ।
समग्रमा, रवि–बालेन भेटवार्ता केवल दुई नेताबीचको संवादमा सीमित नरही नेपाली राजनीतिमा नयाँ सम्भावना र नयाँ प्रतिस्पर्धाको संकेतका रूपमा हेरिन थालेको छ।










प्रतिक्रिया दिनुहोस्