images
images

सर्वपक्षीय सरकार गठनको मागसहित मिराज ढुंगानाको समूहद्वारा आन्दोलन घोषणा

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले सोमबारदेखि माइतीघर मण्डलाबाट शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले वर्तमान शासन प्रणाली असफल बन्दै गएको दाबी गर्दै राजनीतिक सहमतिको नयाँ आधार आवश्यक रहेको जनाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले जेनजी आन्दोलन केवल निर्वाचन केन्द्रित नभएको स्पष्ट पारे। उनले सरकारले निर्वाचनको विषय मात्रै उठाइरहेको तर आन्दोलनको मुख्य माग रहेको भ्रष्टाचारसम्बन्धी फाइल खोल्न असफल भएको आरोप लगाए। वर्तमान अवस्थामा निर्वाचन भए अस्थिर परिणाम आउने सम्भावना रहेको भन्दै निर्वाचन गराउनुलाई मात्रै आन्दोलनको उपलब्धि नठान्न सरकारलाई आग्रह गरे।

ढुंगानाले प्रधानमन्त्रीले सार्वजनिक जग्गा अतिक्रमण गरेको, गृहमन्त्रीले आफन्तलाई फाइदा पुग्ने गरी प्रहरीमा दरबन्दी थपेको, महान्यायाधिवक्ताले छोरीलाई डिम्ब तस्करी प्रकरणमा उन्मुक्ति दिएको तथा प्रधानमन्त्रीको सचिवालय नातावाद र कृपावादमा सञ्चालन भइरहेको आरोप समेत लगाए।

आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पार्दै उनले देशमा रोजगारी सिर्जना, शासकीय स्वरूपमा सुधार, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार, शान्ति सुरक्षाको सुनिश्चितता, तथा जेनजी आन्दोलनमा संलग्नलाई धरपकड नगर्नेलगायतका माग अघि सारे।

यसैगरी, राज्य पुनर्संरचनासहितका विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी सर्वसम्मत प्रक्रियामार्फत संविधान सुधार गर्नुपर्ने उनको माग छ। जेनजी जनआन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघन, घातक दमन र निहत्था युवाहरूको हत्याको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि उनले राखे।

साथै, न्यायालयप्रति जनविश्वास कायम गर्न केही संवेदनशील मुद्दाबाहेक अन्य सबै इजलासको प्रत्यक्ष प्रसारण गर्नुपर्ने मागसमेत ढुंगानाले अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्