तनहुँ — जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ६८ जना अझै पनि सम्पर्कमा आएका छैनन्। प्रहरीका अनुसार कारागारमा रहेका कुल ३२७ कैदीबन्दीमध्ये हालसम्म २५९ जना फर्किसकेका छन् भने बाँकी फरार कैदीबन्दीको खोजी तीव्र बनाइएको छ।
आन्दोलन भएको करिब तीन महिना बितिसक्दा पनि सम्पर्कमा नआएकाहरूलाई पहिचान गरी पक्राउ गर्ने काम जारी रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार केही कैदीबन्दीहरू आफैं कारागार फर्किने क्रम जारी रहे पनि कतिपयलाई खोजी गरी नियन्त्रणमा लिन थालिएको छ।
यसैबीच, जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका गोरखाको पालुङटार नगरपालिका–७ निवासी २२ वर्षीय सुमन परियारलाई बिहीबार पक्राउ गरिएको छ। नकबजनी चोरी मुद्दामा सजाय भोगिरहेका परियारलाई तनहुँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्