एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलले अधिकांश पदमा अग्रता बनाउँदै दबदबा कायम गरेको छ। बुधबार सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान सम्पन्न भएपछि मतगणना सुरु गरिएको हो ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार अन्तिम नतिजा आउन अझै केही घण्टा लाग्ने छ ।
हालसम्म गणना भएका मतअनुसार अधिकांश पदमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलले अग्रता लिएको देखिएको छ।
अध्यक्ष पदतर्फ केपी शर्मा ओलीले प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा फराकिलो अन्तरले अघि बढ्दै ८४३ मत प्राप्त गरेका छन्। पोखरेलको खातामा हालसम्म २९६ मत पुगेको छ।
महासचिव पदमा शंकर पोखरेलले अग्रता बनाएका छन्। उनले ६१३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ५२६ मत पाएका छन्।
उपाध्यक्ष पदमा पनि ओली प्यानलका उम्मेदवारहरू अगाडि देखिएका छन्। पृथ्वीसुब्बा गुरुङ पहिलो स्थानमा छन् भने विष्णु प्रसाद पौडेल र रामबहादुर थापा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
उपमहासचिवतर्फ ओली समूहका लेखराज भट्ट र रघुवीर महासेठले अग्रता कायम राखेका छन्। ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका योगेश भट्टराई भने तेस्रो स्थानमा छन्।
सचिव पदमा पनि महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल र शेरधन राईले अग्रता बनाइरहेका छन्। यी सबै उम्मेदवार ओली प्यानलका हुन्।
मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।












प्रतिक्रिया दिनुहोस्