images
images

लक्षित बजार पहिचान गर्दै पर्यटन बोर्डको नयाँ योजना

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र बजारीकरणलाई नयाँ ढंगले अघि बढाउन पाँचवर्षे पर्यटन बजारीकरण रणनीति तयार गर्ने भएको छ। रणनीतिको मुख्य लक्ष्य धेरै खर्च गर्ने (‘हाई इन्ड’) विदेशी पर्यटक नेपाल भित्र्याउनु रहेको बोर्डले जनाएको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार कुन–कुन स्रोत बजारबाट हाई इन्ड पर्यटक ल्याउन सकिन्छ, ती बजारमा कसरी र कुन माध्यममार्फत नेपालको पर्यटन बजारीकरण गर्ने भन्ने विषय रणनीतिमा प्राथमिकताका साथ समेटिनेछ। “पर्यटकको रुचि बदलिँदै गएको छ। अब हिमाल मात्र होइन, प्रकृति, संस्कृति, साहसिक, विलासितामुखी, वेलनेस, इको–टुरिज्मलगायत विविध पर्यटन प्रडक्ट्सलाई लक्षित बजारअनुसार प्रचार गर्नुपर्छ,” उनले भने।

यो रणनीति बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपालबीचको सहकार्यमा तयार गर्न लागिएको हो। बोर्डमार्फत सञ्चालन भइरहेको दिगो पर्यटन परियोजनाअन्तर्गत अपि, कञ्चनजंघा र मनास्लु क्षेत्रलाई राष्ट्रिय ट्रेलका रूपमा विकास गर्दै अन्य पर्यटन विधामा समेत काम भइरहेको छ। नेपाल पर्यटन बोर्डले यसअघि पर्यटन प्रवर्द्धन र बजारीकरणका लागि दशवर्षे समग्र रणनीति (२००५–२०१५) र (२०१६–२०२५) कार्यान्वयन गरिसकेको छ। साथै, बोर्डले वार्षिक नीति तथा कार्यक्रममार्फत प्रचारप्रसार र बजारीकरण गर्दै आएको छ। तर, बजारीकरणलाई मात्र केन्द्रमा राखेर बनाइने यो पाँचवर्षे रणनीति भने पहिलो पटक हो।

जोशीका अनुसार रणनीतिमा लक्षित बजार र वर्ग पहिचान, नयाँ उपकरण र डिजिटल प्लेटफर्मको प्रयोग, तथा परिवर्तित विश्व पर्यटन प्रवृत्तिअनुसार कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना समावेश हुनेछ। “नेपालको पर्यटन सम्भावना बहुआयामिक छ। त्यसलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्न एकीकृत बजारीकरण आवश्यक छ,” उनले बताए। सरकारको १६औँ योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) ले अन्तिम वर्षसम्म २५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ।

योजनाअनुसार पर्यटकको औसत बसाइ १३ दशमलव १ दिनबाट १५ दिन र प्रतिदिन खर्च ४० दशमलव ४ अमेरिकी डलरबाट ८५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य छ। हाल कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ प्रतिशत र करिब २ लाख व्यक्तिको प्रत्यक्ष रोजगारी रहेको उल्लेख छ, यद्यपि पर्यटन व्यवसायीहरूले यी तथ्यांक वास्तविकभन्दा कम रहेको दाबी गर्दै आएका छन्। नयाँ पाँचवर्षे बजारीकरण रणनीतिले पर्यटक संख्या मात्र होइन, आम्दानी र गुणस्तर बढाउने अपेक्षा गरिएको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्