images
images

विवादित डकुमेन्ट्रीपछि ट्रम्पले हालेको मुद्दा बीबीसीले सामना गर्ने

बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको १० अर्ब डलरको मुद्दा अदालतमा नै सामना गर्ने निर्णय गरेको छ। बीबीसीले सम्झौताको बाटोभन्दा कानुनी प्रक्रियामार्फत सत्यता प्रष्ट पार्ने अडान लिँदै आफ्नो पत्रकारिता र प्रेस स्वतन्त्रताको रक्षा गर्ने जनाएको छ।

यसअघि ट्रम्पले बीबीसीले जानाजानी आफूलाई हानि पुर्‍याउने उद्देश्यले सामग्री प्रसारण गरेको आरोप लगाएका थिए। सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनअघि बीबीसीको प्रमुख समसामयिक कार्यक्रम ‘प्यानोरामा’ मा प्रसारित एक वृत्तचित्र विवादको केन्द्रमा परेको हो।

उक्त भिडियोमा ट्रम्पका भाषणका दुई फरक–फरक अंशलाई जोडेर प्रस्तुत गरिएको देखिन्छ, जसले उहाँले आफ्ना समर्थकलाई क्यापिटलमा आक्रमण गर्न प्रत्यक्ष रूपमा उक्साएको जस्तो अर्थ लाग्ने दाबी ट्रम्प पक्षको छ। तर बीबीसीले सो वृत्तचित्र अमेरिका भित्र प्रसारण नभएको, विवादित १२ सेकेन्डको क्लिपमा त्रुटि भए पनि त्यसले अमेरिकी दर्शकमाझ ठोस प्रभाव पारेको प्रमाण कमजोर रहेको दाबी गरेको छ।

कानुनी लडाइँमा ५० देखि १०० मिलियन डलरसम्म खर्च हुन सक्ने अनुमान गरिए पनि बीबीसीले अदालतबाटै स्पष्टता खोज्ने संकेत दिएको छ। यस कदमले आफ्नो ब्रान्डको विश्वसनीयता र प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता अझ बलियो सन्देश दिने बीबीसीको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्